Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित भएका छन् । नेपाल र गणतन्त्र इन्डोनेसियाबिच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन अध्यक्ष ढकालले निर्वाह गरेको भूमिकाको कदर गर्दै इन्डोनेसिया सरकारले ढकाललाई विशिष्ट अवार्ड ‘करका बुवाना अवार्ड’ बाट सम्मानित गरेको हो ।

इन्डोनेसियाको परराष्ट« मन्त्रालयद्धारा प्रदान गरिएको सो अवार्ड इन्डोनेसियासँगको सम्बन्धमा उल्लेख्य भूमिका निर्वाह गर्ने विदेशी विशिष्ठ व्यक्तित्वलाई प्रदान गर्ने गरिएको मन्त्रालयले जनाएको छ । इन्डोनेसियाली परराष्ट्रमन्त्रीका तर्फबाट नेपालका लागि इन्डोनेसियाली राजदूत हेरु एच. सुवोलोले ढकाललाई काठमाडौँमा मंगलबार आयोजित एक कार्यक्रममा उक्त सम्मान हस्तान्तरण गरेका हुन् ।

यो सम्मानले नेपाल र इन्डोनेसियाबिच पर्यटन प्रवद्र्धन, साँस्कृतिक आदानप्रदान र दुई देशबीचको आर्थिक सम्बन्ध प्रवद्र्धन गर्न ढकालले गरेका प्रयासलाई उजागर गरेको दाबी गरिएको छ ।

सो अवसरमा राजदूत सुवोलोले ढकालको प्रयासले दुई देशबीचको सम्बन्ध सुदृढ हुनुका साथै दुवै देशलाई आर्थिक, सांस्कृतिक र कुटनैतिक सहकार्य विस्तारमा फाइदा पुगेको बताए । ढकालले सम्मानका लागि इन्डोनेसियाली सरकारलाई आभार व्यक्त गर्दै यस पुरस्कारले आफूलाई नेपाल र इन्डोनेसियाबिच आपसी सहकार्य, विकास र समृद्धिको लागि काम गर्न थप प्रेरणा मिलेको बताए ।

नेपाल र इन्डोनेसियाबीच हालै द्विपक्षीय परामर्श संयन्त्र तथा दुई देशका सरकारी अधिकारीहरुलाई भिषा फ्रि सम्झौता भएकोमा दुवै देशका सरकारलाई धन्यवाद दिदैँ ढकालले ती सम्झौताले दुई राष्ट्रबीचको कुटनितिक सम्बन्धलाई सुदृढ गर्ने, दुई देशबीच हुने सरकारी भ्रमणहरुलाई सहज बनाउनुका साथै आर्थिक तथा क्षेत्रीय सहयोगलाई आधार तयार गर्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष ढकालले इन्डोनेसियाको भ्रमण गर्ने नेपाली पर्यटकहरुको संख्यामा विगत केही वर्षमा उल्लेख्य वृद्धि भएको प्रसंग उल्लेख गर्दै कोरोना महामारी अघि इन्डोनेसिया जाने नेपालीहरुलाई अन अराइभल भिषा प्रदान गर्ने गरिएकोमा अहिले रोकिएकाले यसलाई पुनः सुचारु गर्न इन्डोनेसिया सरकारसँग आग्रह गरे ।

यस अघि पनि सन् २०१५ को भूकम्पको समयमा उद्दार तथा राहत प्रयासमा गरेको योगदानको कदरस्वरुप इन्डोनेसिया सरकारले ढकाललाई सम्मान गरेको थियो ।

ढकाल सन् २०१० देखि नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत छन् ।

कार्यक्रममा विभिन्न देशका राजदूतहरु, परराष्ट्र मन्त्रालयका उच्च पदस्थ कर्मचारी तथा अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Health Tips Ad Road Block