ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

बालबालिकाको क्यान्सर रोक्न अन्तर्राष्ट्रिय समुदायसँग निःशुल्क खोप माग

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हेटौंडामा रहेको विश्व स्वास्थ्य संगठनको हेटौंडामा रहेको कीटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्रलाई क्षेत्रीय अनुसन्धान केन्द्रका रुपमा विकास गर्न सघाउन आग्रह गरेका छन् । जर्मनीको बर्लिनमा आयोजित विश्व स्वास्थ्य सिखर सम्मेलनका क्रममा संगठनका महानिर्देशक डाक्टर टेड्रोस गिब्रिएसस्सँगको कुराकानीका क्रममा उनले यस्तो अनुरोध गरेका हुन् ।

नेपाल मात्र नभएर दक्षिणपूर्वी एसियाकै अनुसन्धान केन्द्रका रुपमा विकास गर्न सकिने भन्दै मन्त्री पौडेलले यसका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको बताए । जवाफमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोसले नेपालले संगठनको स्वास्थ्य लक्ष्य पूरा गर्न महत्वपूर्ण योगदान दिएको चर्चा गर्दै यस विषयमा सकारात्मक रहेको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय महाशाखा प्रमुख डाक्टर भीम सापकोटाले जानकारी दिए ।

६ प्रकारका खोप निःशुल्क उपलब्ध गराउन विश्व समुदायसँग आग्रह

मन्त्री पौडेलले सम्मेलनका क्रममा विश्वव्यापी खोप अलाएन्स गाभीका कार्यकारी अधिकृत सानिया निस्तारसँग पनि भेट गरे । उनले नेपाल बालबालिकामा हुने क्यान्सरसँग जुध्नका लागि लागि परेको भन्दै बाल क्यान्सर नियन्त्रणका लागि खोपको सहायताका लागि आग्रह गरे । मन्त्रालयले सानै उमेरदेखि नै क्यान्सर नियन्त्रणका लागि योजना बनाएर काम थालेको भन्दै मन्त्री पौडेलले गाभीबाट प्राप्त हुने सहयोगले साथ मिल्ने बताए ।

जर्मन स्वास्थ्य मन्त्रीसँग डिजिटल स्वास्थ्य सुदृढिकरणका लागि छलफल

मन्त्री पौडेलले जर्मनीका संघीय स्वास्थ्यमन्त्री कार्ल लउटरबचसँग पनि भेटवार्ता गर्दै नेपालले डिजिटल स्वास्थ्यमार्फत स्वास्थ्य सुधार अघि बढाउने बताए । जर्मन मन्त्रीले जर्मन अन्तर्राष्ट्रिय सहायता एजेन्सीमार्फत नेपाललाई दिन लागिएको करिब ३० मिलियन युरो स्वास्थ्य सहायताको प्राथमिकताबारे जिज्ञासा राखेका थिए । जवाफमा मन्त्री पौडेलले डिजिटल प्रणालीको सुधार अघि बढाउने बताएका हुन् ।

नेपालका महिला स्वास्थ्यस्वयंसेविकाका कारण मातृशिशु स्वास्थ्य र पोषणमा सुधार

नेपालका महिला स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिका तथा महिलाको खोप तथा पोषणमा भइरहेको सुधारको विश्वका स्वास्थ्य क्षेत्रका सरोकारवालाले प्रशंसा गरेका छन् । विश्व स्वास्थ्य सिखर सम्मेलनमा कार्यक्रममा बोल्ने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलल नेपालको दूरदराजका क्षेत्रमा समेत ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाले पोषण र स्वास्थ्यका क्षेत्रमा मातृ र शिशुका लागि उदाहरणीय काम गरेको बताएका थिए ।

स्थानीय समुदायका महिलाले प्रभावकारी योगदान दिएकै कारण मातृशिशु मृत्युदर कम गर्न सकेको मन्त्री पौडेलले बताए पछि सहभागीहरुले त्यस कार्यको प्रशंसा गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

सम्मेलनमा सहभागी हुने क्रममा मन्त्री पौडेलले नर्वेका स्वास्थ्य मन्त्री जाँ क्रिश्चियन भेस्ट्रे तथा युनिसेफका शीर्ष अधिकारीसँगसमेत भेटवार्ता गर्दै स्वास्थ्य सुधारमा नेपालले गरिरहेको प्रयासमा ऐक्यबद्धताका लागि आग्रह गरेका थिए ।

युनिसेफका डेपुटी प्रोग्राम डिरेक्टर ओमर अब्दीसँग मन्त्री पौडेलले महिला स्वास्थ्य स्वयंसेविकाको परिचालन व्यवस्थित ढंगले गर्नका लागि सशक्तिकरणका लागि पर्याप्त सेवा सुविधा उपलब्ध गराउन सघाउन आग्रह गरेका थिए । जवाफमा युनिसेफका डेपुटी प्रोग्राम डिरेक्टरले नेपालका महिला स्वास्थ्य स्वयंसेविकाको योगदान प्रशंसनीय भन्दै सघाउन तयार रहेको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका समन्वय महाशाखा प्रमुख सापकोटाले जानकारी दिए ।

Health Tips Ad Road Block