काठमाडौं । नेपाल राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकाङ्क निर्धारणको आधार वर्ष परिवर्तन गरी २०८०/०८१ लाई नयाँ आधार वर्ष मानेको छ । नयाँ आधार वर्ष तय गर्दै केन्द्रीय बैंकले अबदेखि प्रदेशको तथ्याङ्क निकाल्ने भएको छ । यसले प्रदेश सरकारलाई पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी राष्ट्र बैंकले मूल्य सूचक वस्तुहरुको सूचि पनि परिवर्तन गरेको छ । विगतमा ४९६ वटा वस्तुको मूल्यका आधारमा सूचकांक तयार गर्ने गरेको केन्द्रीय बैंकले समयको परिवर्तनसँगै असान्दर्भिक १०६ वटा वस्तु हटाएको छ भने १३५ वटा नयाँ वस्तु थप गरेर ५२५ पुर्याएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिएका छन् ।
आधार वर्ष परिवर्तनसँगै वस्तु समूहको भार पनि संशोधन भएको केन्द्रीय बैंकले जनाएको छ ।
त्यस्तै राष्ट्र बैंकले सोधनान्तर स्थितिको तथ्याँक संकलन र प्रस्तुतीकरणको विधि परिमार्जन गरेको छ । यसअघि बिपिएम–५ का आधारमा शोधनान्तरको स्थिति विवरण सार्वजनिक हुँदै आएकामा विपिएम–६ कार्यान्वयन थालिएको छ ।