skip this News Page Tips Ad Road Block

आयोडिन नभएको नूनको बिक्री रोक्न माग, आयोडिनयुक्त दुई बालबालिका चिह्न अङ्कित नूनकाे प्रयाेगमा जाेड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । स्वास्थ्यकर्मी एवं चिकित्सकहरुले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको जोखिम देखिने खतरा बढेकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल आयोडिन नभएको नून बिक्री वितरणमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय उपभोक्ता मञ्चद्धारा झापामा आयोजना गरिएको बजारमा उपलब्ध नुनको गुणस्तर र यसको उपभोगबाट हुनसक्ने स्वास्थ्य विषयक कार्यक्रममा स्वास्थ्यकर्मी एवं चिकित्सकहरुले यस्तो ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले नेपाल भारत खुला सीमाका कारण व्यापारिक कम्प्लेक्स, खाद्यान्न पसल लगायत स्थानमा आयोडिन नभएको भारतीय नून खुलमखुल्ला बिक्री भइरहेकोप्रति चिन्ता जनाउँदै बजार अनुगमन गरी त्यस्ता नून जफत गरेर साल्ट ट्रेडिङ कर्पोरेशनको दुई बालबालिका अङ्कित चिह्न भएको आयोडिनयुक्त नूनलाई मात्रा मिलाएर प्रयोगमा ल्याउनुपर्ने बताए ।

तीनै तहका सरकारले यसमा विशेष ख्याल राख्नुपर्ने उनीहरुको भनाइ छ ।

बालरोग विशेषज्ञ डा. टङ्क बराकोटीले आयोडिनविहीन नूनको प्रयोग बढ्दै जाँदा विशेष गरेर बालबालिका तथा गर्भवतीको स्वास्थ्य जोखिममा पर्न सक्ने औँल्याए । उनले यसलाई गम्भीरतापूर्वक लिइनुपर्ने भन्दै तत्काल आयोडिन नभएको नून बिक्री वितरणमा प्रतिबन्ध लगाइनुपर्ने बताए । बराकाटीले श्रीलङ्कामा हाल आयोडिन नभएको नूनले जनस्वास्थ्यमा समस्या उत्पन्न भएकोतर्फ ध्यानाकर्षण गराउँदै नेपालमा भविष्यमा कुनै समस्या आउन नदिन अहिले नै सचेत हुनुपर्ने बताए ।

अर्कोतर्फ सरकारले नून बिक्री वितरणमा निजी क्षेत्रलाई प्रवेश गराएपछि बजारमा मापदण्ड एवम् गुणस्तरअनुसार आयोडिनको मात्रा नभएको नून बिक्रीवितरण हुँदा भविष्यमा आयोडिनको कमीले हुने स्वास्थ्य समस्या जटिल रूपमा देखिने खतरा बढेको उनीहरुको तर्क छ ।

त्यहाँका बजारमा ‘ब्लाक साल्ट’ नामका भारतीय गुणस्तरहीन र मापदण्डविपरीतका नून खुलारुपमा बिक्री वितरण भइरहेका छन् । भारतीय सरकारले नूनमा उत्पादन तहमा ३० पिपिएम र भान्सामा पुग्दा १५ पिपिएम निर्धारण गरेको छ ।

विश्वस्वास्थ्य सङ्गठनको मापदण्डअनुसार नेपाल सरकारले वि.सं २०५७ माघ २३ देखि आयोडिनयुक्त नून उत्पादन तहमा ५० पिपिएम हुनुपर्ने, बिक्री गर्ने स्थानसम्म आइपुग्दा ३० पिपिएम र उपभोक्ताले प्रयोग गर्दासम्म अनिवार्य १५ पिपिएम हुनुपर्ने नियम कार्यान्वयन गरिरहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्वअतिरिक्त सचिवसमेत रहेका डा. बराकोटीका अनुसार ‘आयोडिन’ शरीरलाई दैनिकरूपमा नभई नहुने सूक्ष्म पोषक तत्व हो । नूनले थाइराइड ग्रन्थीबाट थाइराइड हर्मोनहरु निकाल्न मद्दत गर्दछ । शरीरको नियमित क्रियाको लागि जस्तै कोशिकाहरूको कार्य सुचारु राख्न, दिमागको वृद्धि र विकास गर्नजस्ता मुख्यमुख्य काममा सहयोग गर्दछ । शारीरिक र मानसिक विकासका लागि चाहिने हर्मोन उत्पादनका लागि पनि आयोडिनको आवश्यकता पर्दछ । बालबालिका तथा गर्भवतीलाई आयोडिन नूनको आवश्यकता पर्दछ । यस्तो अवस्थामा दुई बालबालिका अङ्कित चिह्न भएको आयोडिनयुक्त नून सही मात्रा मिलाएर खानुपर्छ ।

सरकारले ‘थोरै खाऔँ, सही मात्रामा खाऔँ’ भन्दै दुई बालबालिका अङ्कित चिह्न भएको आयोडिनयुक्त नून मात्र प्रयोग गर्न आग्रह गर्दै आएको छ ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालका प्रमुख वृजकुमार दासले बालबालिकामा आयोडिनको कमी हुँदा मानसिक विकास राम्ररी नहुने, पढाइमा कमजोर हुने, सुस्त मनस्थिति, बोल्न नसक्ने, आँखा डेढो हुने र शारीरिक विकासमा पनि बाधा पुग्ने बताए । उनले वयस्कमा आयोडिनको कमी भएमा गलगाँड आउने, थाइराइड, मानसिक, शारीरिक क्षमतामा कमीजस्ता असर देखिने भन्दै ध्यानाकर्षण गराए । त्यस्तै थाइराइडका क्यान्सर, प्रजनन क्षमतामा ह्रास, गर्भपतनजस्ता समस्या पनि देखिन सक्ने उनको भनाइ छ ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईँले बजार अनुगमन गरेर स्वास्थ्यलाई प्रत्यक्ष असर पार्ने आयोडिन नभएको नून बिक्रीवितरण गर्न नदिईने प्रतिवद्धता व्यक्त गरिन् । दुई बालबालिका अङ्कित चिह्न भएको आयोडिनयुक्त नून मात्र भान्सामा सहीरुपमा प्रयोग गर्नलाई जनचेतना जगाउनुपर्ने उनले बताइन् । सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँले सीमानाकाका भन्सारबाट नून आयातमा कडाइ र आयोडिनविहीन नून बिक्रीवितरण रोक्न बजार अनुगमन गरिने जानकारी दिँदै यसका लागि उपभोक्ता स्वयं पनि सचेत बन्नुपर्ने भनाइ राखे ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग झापाका प्रमुख सुवासचन्द्र ओस्तीले मानव शरीरलाई अति आवश्यक पर्ने सूक्ष्म पोषकतत्व आयोडिनयुक्त नून भएकाले यसको प्रयोगका बारेमा सचेतना आवश्यक पर्ने जनाउँदै नून आयातमा अनुमति नदिएको जानकारी दिए ।

कार्यक्रममा साल्ट ट्रेडिङ कर्पाेरेशनका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश कुमार झाले हालसम्म विषम अवस्थामा पनि नूनको आपूर्ति भइराखेको जानकारी दिए । झा का अनुसार गत आवमा कर्पोरेशनले दुई लाख १० हजार टन आयोडिनयुक्त नून बिक्री वितरण गरेको थियो । अर्कोतर्फ कर्पोरेशनले नून आपूर्तिमा तत्काल अवरोध आउन नदिन छ महिनाभन्दा बढीलाई पुग्ने नून आफ्ना गोदाममा मौज्दातमा राख्दै आएको छ । उनले भने, “सरकारको कार्यादेशअनुसार नै आयोडिनयुक्त नूनको नियमित आपूर्ति र वितरण हुँदै आएको छ ।”

कार्यक्रममा मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आयोडिनयुक्त नूनको अर्को विकल्प नभएको चर्चा गर्दै तत्काल बजार अनुगमन गरेर आयोडिनविहीन नून जफत गर्नुपर्ने भनाइ राखे । उनले नूनको बिक्री वितरणमा निजी क्षेत्रलाई प्रवेश गराउँदा उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड भइरहेको र बजारमा आयोडिन नभएको नूनलाई तत्काल प्रतिबन्ध लगाउनुपर्ने माग गरे ।

पछिल्ला दशकका नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता प्राप्त गरेको छ । सन् १९६५ भन्दा अघिसम्म दुई जनामध्ये एक जनालाई आयोडिनको कमीले हुने विभिन्न किसिमका रोग लाग्ने गर्दथ्यो । अनुसन्धानले ५५ प्रतिशत मानिसलाई गलगाँड भएको पुष्टि भएपछि सन् १९७३ देखि अनिवार्यरूपमा आयोडिन भएको नूनको आयात गर्न निर्देशन दिएको थियो । विगतमा आयोडिनयुक्त नूनको अभावका कारण पहाडी एवं हिमाली भू–भागका बहुसंख्यक नागरिकले गलगाँड रोगको चरम समस्यालाई झेल्नुपरेको थियो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पछिल्लो अध्ययन प्रतिवेदनका अनुसार आयोडिनयुक्त नूनको पहुँच लगभग शतप्रतिशत पुग्दा आयोडिनको कमीबाट देखिने गलगाँडको समस्या निवारण भएको छ । सरकारको आयोडिनयुक्त नूनको सर्वसुलभ पहुँच आम नागरिकसम्म पुर्‍याउने नीति र यस नीतिलाई कार्यान्वयन गर्ने साल्ट ट्रेडिङ कर्पोरेशनको चुस्त वितरण व्यवस्थापनका कारण ग्रामीण क्षेत्रमा गलगाँडको समस्या शुन्यमा झरेको हो । राष्ट्रिय योजना आयोगद्वारा गरिएको यस कार्यक्रमको ‘आन्तरिक मूल्याङ्कन प्रतिवेदन २०७३’ अनुसार दुर्गम क्षेत्रमा साल्ट ट्रेडिङ कर्पोरेशनको चुस्त नून वितरण प्रणालीका कारण कार्यक्रमले सफलता पाएको हो ।

Health Tips Ad Road Block