काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका–१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–३ घर भएका २२ वर्षीय सम्योग राईलाई प्रहरीले पक्राउ गरेको छ ।
राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरी परेको थियो । सो आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई मंगलबार ललितपुर महानगरपालिका–१३ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।






















