काठमाडौं । नेकपा एमालेका नेता एवं प्रतिनिधिसभाको निर्वाचनमा प्युठानबाट उम्मेदवार बनेका सूर्य थापाले हामीलाई प्रहार गरेर जिविका चलाइरहेका मानसिक रोगीहरूका प्रलापले केही फरक पार्ने छैनः भनी टिप्पणी गरेका छन् । उनले निर्वाचनमा हारजित स्वभाविकै भएको भन्दै यस्तो टिप्पणी गरेका हुन् । उनले हरेक मित्र र शत्रुको खास परिचय अप्ठेरो घडीमा अझ राम्रोसँग हुन्छ र सबभन्दा बढी आफैंले पालेका कुकुरले नै मालिकलाई टोक्ने गर्दछन् भन्ने भनाइ पनि व्यवहारतः परीक्षण भएको व्यङ्ग्य गरेका छन्।
यस्तो छ सामाजिक संजालमा नेता सूर्य थापाले गरेको टिप्पणीः
हामी जन्मिंदा देशमा पञ्चायतको जगजगी थियो, एक बर्ष पुग्दानपुग्दै छिमेकमा स्वतन्त्र रहेको मुलुक सिक्किम भारतमा गाभियो। त्यसपछि जनमतसंग्रह, सत्याग्रह, जनआन्दोलन, जनयुद्दु, जनक्रान्ति, मधेस उधुम र जेन्जी विध्वंस सबका सब देखियो, भोगियो र ५१ बर्षयताका प्रायः उथलपुथल एवं परिवर्तनमा सँगसँगै साक्षी र सहभागी छौं। इतिहासले सुम्पेको जिम्मेवारीलाई हामीले सकेसम्म निष्ठाका साथ पूरा गर्ने क्रममा राजतन्त्र उन्मुलन गरी यहाँसम्म आइपुगेको तथ्य जगजाहेरै छ। २०८२ फागुन २१ को निर्वाचन र परिणाम दुबै अनपेक्षित रह्यो। देशको दीर्घकालीन हित र अस्तित्वविरूद्द धावा बोल्दै विदेशीका भरौटे र बुख्याँचाहरूले तिनको योजना, दुष्प्रचार र अकुत लगानीमा यो सब उत्पात मच्याएका छन्। सबैका मुखौटा खुल्दै जानेछन् र तिनको भण्डाफोर हुनु अनिवार्य छ। हामीले जनताकाविरूद्द कुनै गलत काम गरेका छैनौ, गर्दैनौं र कसैसँग अनुचित सौदावाजी पनि गर्दैनौं। विदेशी दादगिरी र हस्तक्षेप किमार्थ सैह्य र स्वीकार्य छैन।
निर्वाचनमा हारजित स्वभाविकै हो। तर हामीलाई प्रहार गरेर जिविका चलाइरहेका मानसिक रोगीहरूका प्रलापले केही फरक पार्ने छैन। हरेक मित्र र शत्रुको खास परिचय अप्ठेरो घडीमा अझ राम्रोसँग हुन्छ। र, सबभन्दा बढी आफैंले पालेका कुकुरले नै मालिकलाई टोक्ने गर्दछन् भन्ने भनाइ पनि व्यवहारतस् परीक्षण भएको छ। थुप्रै दाजुभाइ दिदीबहिनीले हाम्रो पराजयमा पिर मान्दै टेलिफोन गरेर भक्कानिनु भएको छ । प्राविधिक रूपमा जयपराजयको घोषणालाई स्वीकारिएको छ, खेलमा भाग लिएको खेलाडीले यसो गर्नु स्वभाविकै हुन्छ। तर राजनीतिक घटना र परिघटनाको विश्लेषणका आधारमा भन्नुपर्दा यो जनमतविपरित कृत्रिम, चरम घृणा र इर्ष्याको म्याच फिक्सिङको परिणाम अस्थायी मात्रै हो।यसले देशलाई झन् जटिल संकटतर्फ धकेल्ने खतरा बढाएको छ।
यस्तो बेलामा पार्टीभित्र संयम र विवेकका साथ समिक्षाको आन्तरिक स्थापित अभ्यासलाई बुध्दिमत्तापूर्वक अवलम्बन गर्नुपर्दछ। मिडियाबाजी र सडकबाट गालीगलौज गरेर सही निष्कर्षमा पुग्न संभव हुनेछैन।अझ पार्टी महाधिवेशनमा अस्वीकृत र पराजित कुराहरूका आधारमा चलखेल गरिनु सर्वथा मुर्खताबाहेक केही हुनेछैन।हरेक व्यक्तिको भुमिका जनता र कार्यकर्ताको सार्वजनिक निगरानी बाहिर नरहेको वास्तविकतालाई हेक्का राख्दै पार्टी र आन्दोलनका विरोधी र बैरीहरूको बोलीमा लोली मिलाएर जगहसाइ नगर्न पनि सबैलाई अनुरोध गर्न चाहन्छौं।
यो राष्ट्र र जनताको साझा संकट हो, यसका विरूद्द एकताबद्द भएर मात्रै लड्न र विजय हासिल गर्न संभव हुनेछ।
प्यूठान जिल्ला–मत परिणाम–प्रत्यक्ष–समानुपातिक(
घण्टीः २७, ४६९ (प्रत्यक्ष), ३०, ७५२ (समानुपातिक)
सूर्यः १६, ७१० (प्रत्यक्ष), १६,१९५ (समानुपातिक)
रुखः १८३३८ (प्रत्यक्ष), १५,२२६ (समानुपातिक)
ताराः ९, ०७४ (प्रत्यक्ष), ९,१८१ (समानुपातिक)
गिलासः ७,६५४ (प्रत्यक्ष), ७,६७९ (समानुपातिक)






















