ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

निर्वाचनलाई भयरहित बनाउन प्रहरी महानिरीक्षकको निर्देशन, आर्थिक अपराध गर्नेलाई तत्काल कारवाही हुने  

Citizenlife ad 2082 falgun to baishak 2083
काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले आसन्न निर्वाचनलाई राष्ट्रिय संकल्पको रूपमा लिई भयरहित एवम् निष्पक्ष वातावरणमा सफलतापूवर्क सम्पन्न गराउन सबै प्रहरी कर्मचारीहरू सामूहिक जिम्मेवारीबोधका साथ कटिबद्ध हुन निर्देशन दिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आसन्न निर्वाचनको सन्दर्भमा निर्वाचन पूर्व, निर्वाचनको समय र निर्वाचन पश्चात अपनाउनुपर्ने सुरक्षा सतर्कता तथा समसामयिक विषयवस्तुमा आइतबार प्रहरी कर्मचारीहरूलाई  प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिएका हुन् ।
प्रहरी महानिरीक्षक कार्कीले आसन्न निर्वाचनमा नेपाल प्रहरीले अग्रपंक्तिमा रहेर कार्य गर्ने र सो समयमा देखापर्न सक्ने सुरक्षा चुनौतीहरूको सामना गर्न आवश्यक सुरक्षा रणनीतिसहित प्रहरी कर्मचारीहरू सदैव तयार हुनुपर्ने उल्लेख गर्दै सूचना संकलनलाई विशेष प्राथमिकतामा राखी सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिए । भरपर्दो सुरक्षा योजना अवलम्बन गर्दै अन्य सुरक्षा निकाय एवम् सरोकारवाला सबै पक्षहरूसँग निरन्तर समन्वय तथा सहकार्य गरी आ–आफ्नो क्षेत्रमा त्रुटीरहित तवरमा कार्यसम्पदान गर्न उनले निर्देशन दिए ।
प्रहरी महानिरीक्षक कार्कीले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने एवम् अवाञ्छित गतिविधिका साथै सामाजिक सञ्जालमार्फत गलत सूचना तथा मिथ्या सूचना सम्प्रेषणमा संलग्नलाई कानुनी दायरामा ल्याउन थप सक्रियरूपमा प्रस्तुत भई कार्य गर्नुपर्नेमा विशेष जोड दिए । आ–आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रहरीको बलियो उपस्थितिको साथै अन्य सुरक्षा निकायसँग निरन्तर समन्वय गरी संयुक्त परिचालनका साथै संयुक्त पूर्वअभ्यासहरूलाई समेत प्राथमिकतामा राखेर कार्य गर्नुपर्ने उनले बताए । निर्वाचनको समयमा प्रहरीले पालना गर्नुपर्ने आचारसंहिता, ‍निर्वाचन व्यवस्थापनमा निर्वाह गर्नुपर्ने भूमिका एवम् दायित्व तथा सामाजिक सञ्जालको प्रयोगमा समेत आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै तटस्थ, इमानदार तथा प्रतिवद्ध भई आ–आफ्नो जिम्मेवारी वहन गर्न उनले निर्देशन दिए ।
प्रहरी महानिरीक्षक कार्कीले निर्वाचनको वातावरणलाई शान्तिपूर्ण बनाउनको लागि आ–आफ्नो क्षेत्रमा खटिएका निर्वाचन अधिकृतसँग आवश्यक समन्वय र सहकार्य गर्दै कार्य गर्नुपर्ने उल्लेख गर्दै मतदान अधिकृतसँग समन्वय गरी मतदान केन्द्रको निर्माण एवम् मतदानस्थलमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलतामा कुनै पनि त्रुटी नहुने गरी काम गर्नुपर्ने बताए । निर्वाचनको समयमा थप मद्दतको रूपमा खटि आउने प्रहरी कर्मचारीहरूको उचित व्यवस्थापन तथा परिणाममुखी परिचालनमा केन्द्रित हुन उनले आग्रह   गरे ।  साथै कुनै पनि आर्थिक अपराध एवम् हुण्डी कारोबारमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन अझ खरोरूपमा प्रस्तुत भई काम गर्नसमेत उनले निर्देशन दिए ।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदी र मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले समेत जनशक्ति व्यवस्थापन, आचारसंहिताको पालना, मतदानस्थलको सुरक्षा, मतपेटिका ढुवानी, विद्यमान सुरक्षा चुनौतीहरू र अपनाउनुपर्ने सुरक्षा सावधानी लगायत समसामयिक विषयमा निर्देशन दिएका थिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू, सबै जिल्ला प्रहरी कार्यालय सम्मका निर्वाचन सेलका प्रमुख तथा प्रतिनिधिहरू एवम् थप मद्दतका रूपमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक लगायत अन्य प्रहरी अधिकृतहरूको भर्चुअल उपस्थिति रहेको थियो ।
Health Tips Ad Road Block