काठमाडौं । सरकारले जापान जानेहरुलाई सचेत रहन आग्रह गरेको छ । वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै पछिल्लो समयमा व्यक्तिगत श्रम स्वीकृति लिएर जापान जाने नेपाली श्रमिक ठगीमा पर्नेक्रम बढेको भन्दै सचेत हुन भनेको हो ।
नेपाली राजदूतावास, टोकियो, जापानबाट जापान देशसँग सम्बन्धित वैदेशिक रोजगारी ठगीमा संलग्नलाई कारबाही तथा जापान देशको व्यक्तिगत श्रम स्वीकृतिलाई व्यवस्थित बनाउने विषयमा पत्राचार भइआएको भन्दै विभागले जापानमा व्याचलर, कुक तथा सीपयुक्त कामदार लगायतका भिषामा व्यक्तिगत श्रम स्वीकृति लिई जाने व्यक्तिहरु अत्याधिक मात्रामा ठगीमा पर्ने, चर्को शुल्क तिर्ने, भनेअनुसार काम र तलब नपाउने गरेकाले सचेत रहन आग्रह गरेको हो ।
विभागले सूचनामा भनेको छ, ‘व्यक्तिगत श्रम स्वीकृति लिई जापान जाने व्यक्तिहरुलाई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने अनुमति नभएका विभिन्न कन्सल्टेन्सी, संस्था तथा व्यक्तिले जापान देशमा काम लगाईदिने आश्वासन दिई विभिन्न प्रकारका भिषा तथा रोजगारीसम्बन्धी कागजात बनाई व्यक्तिगत श्रम स्वीकृतिको आवेदन गरिदिने र चर्को शुल्क असुली गरेको गुनासो समेत प्राप्त भएकोले वैदेशिक रोजगारी व्यवसाय संचालन गर्ने अनुमति नभएका कोही कसैले यस्तो कानून विपरितको कार्य नगर्न÷नगराउन सूचित गरिन्छ । साथै वैदेशिक रोजगारीमा जापान जाने व्यक्तिहरुले समेत आफूलाई प्राप्त भएको भिषाको प्रकार, सीओइ, करार सम्झौता, रोजगारदाता कम्पनी/संस्था सम्बन्धमा आधिकारिक जानकारी प्राप्त गरी श्रम स्वीकृतिको लागि आवेदन गर्नुहुन अनुरोध गरिन्छ। कोही कसैले पनि जापानमा रोजगारीमा पठाइदिन्छु, भिषा लगाइदिन्छु भनी आश्वासन दिई वा जापानबाट रोजगारी सम्बन्धी सीओइ/करार सम्झौता/भिषा आयो भनी रकम माग गरेमा वा जापानमा वैदेशिक रोजगारीमा पठाइदिने भनी चर्को शुल्क असुल गरेमा सप्रमाण सम्बन्धित निकायमा उजुरी गर्नुहुन अनुरोध गरिन्छ ।’
विभागले पछिल्लो समयमा Transport Driver Candidate Visa मा व्यक्तिगत श्रम स्वीकृतिको लागि निवेदन पेश हुने गरेको र उक्त भिषाको प्रकृति जापानमा ड्राईभिङ लाईसेन्सको परीक्षा दिनुपर्ने र परीक्षा पास गरेको अवस्थामा निज स्वयंले नै रोजगारी तथा रोजगारदाता खोज्नुपर्ने भएको स्पष्ट पार्दै उक्त भिषाबाट श्रम स्वीकृत जारी नगरिने पनि जनाएको छ ।






















