काठमाडौँ । एनपिएलमा दुई सय २० रनको योगफल बनाएको विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मङ्गलबार भएको खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ ले हराएको हो । जितका लागि विराटनगरले दिएको दुई सय २१ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा १८ ओभर ५ बलमा सबै विकेट गुमाएर १६७ रनमा समेटियो ।
पोखराका लागि कप्तान कुशल भुर्तेलले ५९ रनको अर्धसतकीय योगफल निकाले पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ३१ बलमा पाँच चौका र चार छक्का प्रहार गरेको थिए । यस्तै आडम रोसिङ्टनले ३९, अविशेक तिवारीले ११, डान डोउटवेटले २९ रन बनाए । विराटनगरका सन्दीप लामिछाने, प्रतिश जिसी, मर्चेन्ट डे लाङ्गे, शुभम रञ्जनेले दुईदुई विकेट र बसिर अहमद र सूर्य तामाङले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा दुई सय २० रन बनाएको थियो । विराटनगरका लागि ओपनर लोकेश बम र मार्टिन गुप्टिलले अर्धसतकीय पारी खेले । लोकेशले ४८ बलमा एक चौका र सात छक्काको सहयोगमा सर्वाधिक ७२ रन बनाए । मार्टिन गुप्टिलले ३५ बलमा तीन चौका र पाँच छक्का हानेर ६१ रन बनाए । यस्तै शुभम् रन्जनेले ३८, बसिर अहमदले २३, नारायण जोशीले अविजित ११ र जर्ज मुन्सीले १० रन बनाए ।
बलिङमा पोखराका म्याट टेलरले दुई तथा सागर ढकाल, कुशल भुर्तेल र आकश चन्दले एक एक विकेट लिए । जितसँगै विराटनगरले दुई अङ्क बनाएको छ ।
तस्विरः एनपिएल






















