काठमाडौं । आर्थिक वर्ष २०८२।०८३ को बजेट बक्तव्यमा उल्लेख भए बमोजिम प्रचलित सन्दर्भ मूल्यसूची विस्थापन हुनेगरि बनाइएको अनलाइन भन्सार डाटावेश प्रणाली वीरगञ्ज भन्सार कार्यालयबाट सुरु भएको छ । शनिबार प्रणालीको सुरुवात गरिएको हो ।
प्रणालीको डिजिटल माध्यमबाट शुभारम्भ गर्दै अर्थमन्त्री रामेश्वर प्रसाद खनालले अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रुपमा रहेको निजी क्षेत्रलाई सुरक्षा र सुशासनको प्रत्याभुती सहित व्यवसाय संचालन गर्न सरकार प्रतिबद्व रहेको धारण व्यक्त गरे । यसका अतिरिक्त अन्तर्राष्ट्रिय व्यापारमा विश्व व्यापार संगठनद्वारा अनुमोदित ग्याट भेलुयसन प्रणालीलाई नेपालको भन्सार ऐन, नियममा समेत स्विकारिएको सन्दर्भमा कारोबार मूल्यलाई मान्यता दिने गरि सो को परीक्षणका लागि अनलाइन कस्टम डाटावेश प्रणाली कार्यान्वयनमा ल्याईएको बताए ।
यस प्रणालीको कार्यान्वयनले वैध व्यापारलाई प्रोत्साहन गर्ने, मूल्यअभिवृद्वि कर लगायत अन्य कर कार्यान्वयनमा सहायता पुग्ने, अनौपचारिक कारोबारमा कमी आउने र उद्योग व्यवसाय फस्टाउने अपेक्षा राखेको उनले बताए ।
शुभारम्भ कार्यक्रममा अर्थसचिव घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारी, अर्थ मन्त्रालयका सहसचिव उत्तर कुमार खत्री, राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थ चिलुवाल, वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णु प्रसाद ज्ञवाली, एशियाली विकास बैंकका भन्सार मूल्यांकन विज्ञ निर्मलहरी अधिकारी, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम लगायतले आ–आफ्नो धारणा राखेका थिए ।






















