काठमाडौं । राजनीतिक अन्यौल, आर्थिक मन्दी र निजी क्षेत्रले सामना गरिरहेको कठिन परिस्थितीबीच नेपालका अग्रणी व्यवसायिक घराना चौधरी ग्रुप (CG) ले देशमा नयाँ आशा र गौरवको सन्देश फैलाएको छ।
भारतको प्रसिद्ध स्न्याक्स ब्रान्ड बिकाजी फुड्स इन्टरनेशनल सँगको साझेदारीमा चौधरी ग्रुपले नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा “बिकाजी स्न्याक्स फ्याक्ट्री” को शिलान्यास गर्दै नेपालको खाद्य उद्योगमा ऐतिहासिक कदम चालेको छ।
बुधबार सम्पन्न भूमिपूजन समारोहमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, प्रबन्ध निर्देशक वरुण चौधरी र स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमा उक्त प्लान्टको शुभारम्भ गरिएको हो। यो उद्योग स्थापनाले नेपाललाई आयात–निर्भर देशबाट आत्मनिर्भर खाद्य उत्पादक देशतर्फ अघि बढाउने ऐतिहासिक अवसर प्रदान गर्नेछ।
पहिलो चरणमै करिब ५० करोड रुपैयाँ लगानी हुने यो उद्योगले देशभरका युवाहरूका लागि ४०० भन्दा बढी प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ। फ्याक्ट्रीमार्फत भुजिया, नमकीन लगायत बिकाजीका लोकप्रिय स्न्याक्सहरू अब नेपालमै उत्पादन गरिने छन्, जसले नेपाली उपभोक्तालाई विश्वस्तरीय स्वाद आफ्नै माटोमा उपलब्ध गराउनेछ।
“नेपालको अर्थतन्त्र अहिले नयाँ ऊर्जाको खोजीमा छ। हामी त्यस ऊर्जाको स्रोत बन्न चाहन्छौं,” प्रबन्ध निर्देशक वरुण चौधरीले उद्घाटन समारोहमा भने। उनी थप्छन्, “हामीलाई तोडफोडले होइन, देशको भविष्यमा विश्वासले अघि बढाउँछ। यही विश्वासले आज हामी नेपालमा नयाँ उद्योगको जग हालेका हौं।”
हालैको “Gen Z आन्दोलन” का क्रममा चौधरी ग्रुपका प्रतिष्ठानहरूमा आगजनी र तोडफोड भएका थिए। तर त्यही राख र धुलोमाथिबाट उठ्दै ग्रुपले फेरि देशकै माटोमा अन्तर्राष्ट्रिय लगानी ल्याएर पुनर्जागरणको सन्देश दिएको छ। प्रबन्ध निर्देशक निर्वाण चौधरी ले त्यसबेलै भनेका थिए । “हामी नेपाली अर्थतन्त्रप्रति अझ दृढ र समर्पित छौं।” आजको शिलान्यासले त्यो शब्दलाई वास्तविकताको रूप दिएको छ।
फ्याक्ट्री स्थापनाले नवलपरासी र आसपासका क्षेत्रमा औद्योगिक गतिशीलता, कृषि मूल्य–श्रृंखला विस्तार र स्थानीय उत्पादन प्रवर्द्धन ल्याउनेछ। स्थानीय किसान, आपूर्तिकर्ता, सूक्ष्म व्यवसायी र युवाहरूले यस परियोजनाबाट प्रत्यक्ष लाभ पाउनेछन्।
चौधरी ग्रुपको सीजी फुड्स ब्रान्ड पहिले नै “वाइ वाइ” नूडल्समार्फत ६३ देशमा नेपालको नाम विश्वमा फैलाइरहेको छ। अब “बिकाजी स्न्याक्स नेपाल” को स्थापनासँगै देशको अर्को विश्वस्तरीय ब्रान्डको यात्रा सुरु भएको छ।
विश्लेषकहरूका अनुसार, यस्तो लगानीले केवल उद्योग होइन, जन–मनोबलमा पनि आशा र गर्वको लहर ल्याएको छ। नवलपरासीका स्थानीय बासिन्दाले भने, “देशको कठिन समयमा चौधरी ग्रुपले गरेको यो कदमले हामी सबैलाई गर्व महसुस भएको छ। अब हाम्रो गाउँ–शहरले पनि विश्वस्तरीय उत्पादन दिनेछ।”





















