ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

अध्यक्ष भएर बस्नुपर्छ भन्ने मेरो सोच होइन, राष्ट्र बचाउनु नै मुख्य हो : प्रचण्ड

Citizenlife ad 2082 falgun to baishak 2083

रामगोपालपुर, महोत्तरी । नेकपा माओवादी केन्द्रका संयोजक एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफु अध्यक्ष भएर बस्नुपर्छ भन्ने सोच नरहेको बताउँदै राष्ट्र बचाउनु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताएका छन् । महोत्तरीको रामगोपालपुरमा तिहारको अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा वृहत पार्टी प्रवेश कार्यक्रममा सहभागी भई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्  ।

“अध्यक्ष भएर बस्नुपर्छ भन्ने मेरो सोच होइन। राष्ट्र बचाउनु नै मुख्य हो। आवश्यकता परे म जे जस्तो त्याग गर्न पनि तयार छु।”उहाँले भन्नुभयो ।“तर जिम्मेवारीबाट भाग्ने मेरो स्वभाव होइन। अहिलेको अवस्थामा म जिम्मेवारी लिनबाट पछि हट्नेवाला छैन।”

कार्यक्रमको मुख्य आकर्षण बनेका संयोजक प्रचण्डले सम्बोधनमार्फत पार्टीको वर्तमान धारणा, आगामी रणनीति र राष्ट्रिय एजेन्डा स्पष्ट पारे । देशमा परिर्वतित समयमा मधेशमा जेन्सी युवाहरू सहितको सहभागितामा आयोजित कार्यक्रम भव्य भएको र कार्यक्रममा ठूलो जनसहभागिता र पार्टी प्रवेशले पार्टी पंक्तिलाई उत्साहित गरेको बताउँदै उनले नयाँ युगको सुरुवात भएको घोषणा समेत गरे ।

संयोजक प्रचण्डले आफू जेन्सी आन्दोलनपछिको नयाँ अवस्था र पहिलोपटक मधेशमा आयोजित ठूलो कार्यक्रममा सहभागी भएको बताउँदै भने,“हिजो जनयुद्ध र जनआन्दोलनका बेलामा हामी जेन्सी थियौँ। आजको दिनमा मधेशमा पहिलो पटक ६०५ जना जेन्सी युवाहरूसहति माओवादी केन्द्रमा प्रवेश गर्नु इतिहासकै महत्त्वपूर्ण घटना हो।”

“अब जेन्सी र माओवादी मिलेर चुनाव लड्नुपर्छ। अरुले जेन्सीका मागहरू पूरा गर्दैनन्। माओवादी नै त्यो शक्ति हो, जसले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र समावेशी लोकतन्त्रलाई व्यवहारमा ल्याउन सक्छ।”

संयोजक प्रचण्डले देश संकटमा रहेको भन्दै राष्ट्रिय सहमतिको खाँचोमा जोड दिए ।“यदि हामीले संविधान निर्माणका बेला राष्ट्रिय सहमति कायम नगरेको भए, यो देश भयानक दुर्घटनामा जान्थ्यो। हाम्रो भूमिकाले संविधान बचाएको छ।”

उनले माओवादी केन्द्रलाई नै राष्ट्रिय एकताको पर्याय भएको बताउँदै भने,“मधेश केन्द्रित पार्टीलाई उपराष्ट्रपति बनाएर राष्ट्रिय एकता कायम गर्ने दल माओवादी केन्द्र नै हो। समावेशी लोकतन्त्र सुनिश्चित गर्ने शक्ति हामी हौँ।”

संयोजक प्रचण्डले सरकारको नेतृत्व गर्दा माओवादी केन्द्रले सामाजिक न्यायका मुद्दा, नागरिकता समस्या, मिटरब्याज पीडित, मधेशी जनताको विकासका विषयमा ठोस काम गरेको दाबी गर्दै भने,“भ्रष्टाचारविरुद्धको अभियान हामीले सुरु गरेका थियौँ। तर केही मिडिया, विदेशी दलाल र अपराधीहरूले हाम्रो बदनाम गर्न खोजेका छन्।”

उनले आत्मालोचना गर्दै भने,“हामीबाट पनि त्रुटि भयो, कहिलेकाहीँ जनतासँग सम्बन्ध कमजोर भयो। तर अब हामी जनताको बीचमा फर्किएका छौँ।”

संयोजक प्रचण्डले आगामी फागुन २१ गते तोकिएको निर्वाचनलाई लिएर कुनै अन्योल नराख्न आग्रह गर्दै भने,“चुनाव हुन्छ, हुनैपर्छ। यही अहिलेको एक मात्र विकल्प हो।”उहाँले निर्वाचनको तयारीमा जुट्न सबैलाई आह्वान गर्दै भन्नुभयो,“मतदाता नामावली अद्यावधिक गर्नुहोस्। नयाँ मतदाताहरूको नाम लेख्नुहोस्। हामीले राष्ट्रिय एजेन्डा सेट गरिसकेका छौँ— संविधान संशोधन, भ्रष्टाचार अन्त्य, जेन्सी युवाका माग सम्बोधन र समानुपातिक प्रणाली।”

संयोजक प्रचण्डले वामपन्थी एकताको नयाँ अभियान सुरु भएको जानकारी गराउँदै भने,“यो देशमा वामपन्थी जनमत सबभन्दा धेरै छ। समाजवादी मोर्चा बनाइसकेका छौँ। अब एमालेभित्रका इमानदार देशभक्तहरूसँग पनि एकता गर्ने तयारी भइरहेको छ।”

उनले २०७४ सालको दुई तिहाइको जनमत वामपन्थी एकताको उदाहरण दिँदै भने,“त्यतिबेला नेतृत्व केपी ओली जस्ता प्रवृत्तिको हातमा परेकोले त्यो असफल भयो। अब माओवादी केन्द्रका नेतृत्वमा नयाँ एकता गरिन्छ।”

उनले २४ गते र त्यसपछिको समयमा देशभर जनताको सुरक्षमा खटिएका प्रहरीमाथि भएका ज्यादती, हत्या र पीडामा आफू गहिरो रूपमा भावुक बनाएको बताए। “मैले प्रत्यक्ष देखेँ, प्रहरी दाजुभाइ–दिदीबहिनीहरूमाथि गलत तत्वहरूले कस्तो व्यवहार गरे। त्यसैले म देश र जनताको सुरक्षमा अहोरात्र खट्नुहुने सुरक्षाकर्मीप्रति सहानुभूति प्रकट गर्न चाहन्छु।”

सो अवसरमा उनले विभिन्न दल परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका जेन्सी युवासहित विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने ६०० भन्दा बढी नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत गरेका थिए ।

Health Tips Ad Road Block