ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

एनआरएनए अभियान २२ वर्ष पूरा, संघलाई एकताबद्ध बनाउनुपर्ने चुनौती

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियान शनिबारबाट २२ वर्ष पूरा गरेको छ । विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्द गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमिको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको थियो । गैरआवासीय नेपाली संघ देश विदेशमा बस्ने नेपालीका लागि आशा र भरोसाको केन्द्र बन्दै गएको र स्थापनाको २२ वर्षको अवधिमा ९० भन्दा बढी देशमा औपचारिक सञ्जालको विस्तार गरेर विभिन्न मुलुकमा छरिएर रहेका नेपाली समुदायलाई एउटै मालामा जोड्न प्रयासरत रहेको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘संघभित्र विगत केही समयदेखिको असहज परिस्थितिको अन्त्य गर्न प्रयासरत छौँ। वैधानिक सर्वाेच्चता कायम गर्दै संघलाई एकबद्दरुपमा अघि बढाइने उद्देश्यका साथ हामीले गैरआवासीय नेपाली अभियानमा फरक धारमा रहनुभएका साथीहरुलाई समेत समाहित गर्न अधिकतम लचकता अपनाउँदै बृहत् एकताको वातावरण तयार पार्न प्रयासरत छौँ । देश तथा विदेशमा रहेका समस्त नेपालीहरुका बीच भरपर्दो संस्थाको रुपमा स्थापित गैरआवासीय नेपालीहरुको अभियानमा देखिएका असहमतीहरु आपसी संवादबाटै निराकारणको नजिक छौँ । दशौँ अन्तर्राष्ट्रिय महाधिवेशनदेखि बाह्रौँ अन्तर्राष्ट्रिय महाधिवेशनको संघारमा आइपुग्दासम्म विभिन्न समूहमा विभक्त भएर होइन, संघलाई पुनः एकताबद्ध र एकढिक्का बनाउनुपर्ने समस्त गैरआवासीय नेपालीहरुको भावनालाई मध्यनजर गर्दै र यसबीचमा संघमा देखिएका विभाजनका रेखाहरुलाई निमिट्यान्न पार्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघलाई एकताबद्ध गर्न हामीले सहमति गर्न खोजेका हौँ । वर्तमान परिस्थितिलाई सामान्यीकरण गर्दै बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नु नै हामीलाई प्राप्त म्याण्डेट हो । यो म्याण्डेड जसरी पनि पूरा गर्नु हामी सबैको साझा दायित्व पनि हो ।’

३ महिनाभित्रै नयाँ महाधिवेशन गर्ने तयारीमा रहेको उल्लेख गर्दै संघले भनेको छ, ‘हामीले छलफलका क्रममा अभियानको फरकधारमा रहनुभएका साथीहरुले गत वैशाखमा गरिएको भनिएको महाधिवेशनको संरचनालाई अभिलेखिकरण गर्ने र ११औं महाधिवेशनबाट निर्वाचित कार्यसमिको सहमतिमा ५ सदस्यीय स्टेरिङ्ग कमिटी गठन गरी उक्त कमिटीले आगामी ३ महिनाभित्र नियमित १२औं महाधिवेशन सन्पन्न गर्ने सहमतीको हामी नजिक छौ । सर्वाधिकार सम्पन्न उक्त कमिटीमार्फत एमआइएस प्रणाली पुनः खुला गर्ने लगायतका सहमतिका बुँदाहरु प्रस्तावित थिए र धेरैमा हाम्रो सहमति पनि भएकै हो । तर विधानतः नमिल्ने केही विषयमा अझै छलफल जारी रहेकोले जहिले ती विषयमा उहाँहरु सहमत भएर आउनुहुन्छ । त्यही क्षण हामी एकताका लागि तयार छौँ । संवादका लागि जहिले पनि हामी खुल्ला छौँ । आज पनि यही मञ्चबाट फरक मत राख्ने साथीहरुलाई संवादका लागि हामी पुन आह्वान समेत गर्दछौँ ।’

त्यसैगरी संघले ‘अबको योजना १२औं महाधिवेशनको तयारी गर्ने, गैरआवासीय नेपाली संघलाई संस्थागतरूपमा अझ सबल, समावेशी र उत्तरदायी बनाउने दिशामा केन्द्रित हुनेछ । विवाद देखिएका केही राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूमा एकता कायम गर्न पारस्पारिक सम्बादका आधारमा प्रक्रिया अघि बढाईनेछ । गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाको २२ औँ वर्षगाँठ मनाइरहँदा स्थापना कालदेखिका माग तथा मुद्दाहरु क्रमशः सम्बोधन हुने क्रम जारी छ । यसबीचमा सबैभन्दा ठूलो उपलब्धी अर्थात् विदेशमा बस्ने नेपालीका लागि सरकारले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने कानूनी बाटो खोलेको छ र पूर्ण कार्यान्वयनका लागि संघ प्रयासरत छ। नेपालीको मताधिकारको अधिकार सुनिश्चित गर्न अहिलेको सरकार सकारात्मक रहेको छ । एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड सञ्चालनको अन्तिम चरणमा रहेको छ । जसको लागि सरकारले ९ वटा ऐन संशोधनमार्फत सहजीकरण गरेको छ । विदेशमा रहेका नेपालीलाई एउटै छातामा समेट्ने उद्देश्यले विदेशमा रहेका ठूला लगानीकर्ता मात्रै होइन साना तथा मझौला लगानीकर्ताहरु पनि देशमा लगानी भित्र्याउन लागि परेका छन् ।’

२२ वर्षको अवधिमा गैरआवासीय नेपालीहरुले विकास र पूर्वाधार निर्माणका क्षेत्रमा पनि आफ्नो उपस्थिति बढाउँदै लगेको संघको दाबी छ । नेपालका जलविद्युत, बैकिङ, पर्यटन, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा गैरआवासीय नेपालीको उल्लेख्य लगानी भित्रिरहेको संघले जनाएको छ । आर्थिक लगानी मात्रै होइन यससँगै बौद्धिक लगानी भित्र्याउन पनि संस्थागत प्रयास जारी रहेको संघले उल्लेख गरेको छ । संघले विज्ञप्तिमा भनेको छ, ‘गैरआवासीय नेपाली संघमार्फत उल्लेख्य परोपकारी कार्य भएका छन् । दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालसँग जोड्ने प्रयास जारी छ । विदेशमा लामो समय बसेर त्यहाँको आर्थिक–सामाजिक परिवेश राम्रोसँग बुझेका गैरआवासीय नेपालीले त्यहाँको समाज र सरकारसँग नेपाललाई जोडेर नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन नेपाली डायस्पोराले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । संघ श्रमिकमैत्री बनेको छ । आप्रवासन र वैदेशिक रोजगारीलाई मर्यादित बनाउन नेपाल सरकार, रिटर्नी फेडरेशन नेपाल, अन्तर्राष्ट्रिय संघसंस्थासँग पनि समन्वय र सहकार्य भएको छ ।’

Health Tips Ad Road Block