ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

अर्थले भन्यो–विभिन्न व्यक्तिले आफ्नो घर वा अन्यत्र लुकाइराखेको स्रोत नखुलेको रकममाथि अनुसन्धान भइरहेछ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अर्थ मन्त्रालयले विभिन्न व्यक्तिले आफ्नो निवास वा अन्यत्र लुकाइराखेको स्रोत नखुलेको रकमका विषयमा अनुसन्धान भइरहेको जनाएको छ । आइतबार अर्थ मन्त्रालयले एक सूचना गर्दै सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम यस्तो अनुसन्धान भइरहेको जनाएको हो । जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा कतिपय घरमा रकम रहेको चर्चा चलिरहेका बेला अर्थ मन्त्रालयले यस्तो सूचना गरेको हो । मन्त्रालयले प्रचलित कानुनबमोजिम आय आर्जन भएको र स्रोत खुलेको स्वदेशी रकमको जुनसुकै परिमाण आफूसँग वा अन्य स्थानमा सुरक्षित राख्न र उपयोग गर्न कुनै बाधा व्यवधान नरहेको पनि स्पष्ट पारेको छ । मन्त्रालयले जोखिमबाट बच्न भन्दै नागरिकलाई नगदको सट्टा विद्युतीय भुक्तानी प्रणाली प्रयोग गर्न पनि अनुरोध गरेको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका व्रmममा विभिन्न स्थानमा नगद रकम जलेको वा जलेको अवस्थामा भेटिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले यस्ता जोखिमबाट बच्न नागरिकलाई नगदको सट्टा विद्युतीय भुक्तानी प्रणाली प्रयोग गर्न अनुरोध गरेको हो । सरकारले सेवा वा वस्तुको खरिदबिक्री वा अन्य कारोबार वित्तीय संस्था वा बैङ्किङ उपकरणमार्फत गर्ने गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गरिरहेको भन्दै विद्युतीय भुक्तानी प्रणाली प्रयोग गर्न आग्रह गरेको हो । विद्युतीय भुक्तानीमार्फत जुनसुकै सीमासम्मको रकमको कारोबार गर्न सकिने भन्दै मन्त्रालयले ठूलो परिमाणमा नगद सञ्चय गरेर राख्नुपर्ने आवश्यकता नभएको स्पष्ट पारेको छ । कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एक पटकमा १० लाख रुपियाँ वा सोभन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिदबिक्री वा अन्य कारोबार गर्दा बैङ्किङ उपकरणमार्फत गर्नुपर्ने व्यवस्था रहेको अर्थले स्मरण गराएको छ । करसम्बन्धी प्रचलित कानुनले सीमा तोकेकोमा भने सोहीबमोजिम हुने मन्त्रालयले जनाएको छ । नेपाल आउने नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर पाँच हजारसम्म (भारतीय रुपैयाँको हकमा अमेरिकी डलर पाँच हजार बराबर हुन आउने भारतीय रुपैयाँसम्म र नेपाल राष्ट्र बैङ्कबाट विनिमय दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा समेत अमेरिकी डलर पाँच हजार बराबरसम्म) भन्सार घोषणाबिना नेपाल भित्र्याउन सक्ने र सोभन्दा बढी रकमको हकमा भने भन्सार घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था रहेको सूचनामा उल्लेख छ ।

त्यस्तै नेपाली नागरिकले वैध तरिकाले प्राप्त गरेको विदेशी मुद्रा पनि अधिकतम एक हजार पाँच सय अमेरिकी डलर वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्म नगदमा राख्न सक्ने व्यवस्था रहेको अर्थ मन्त्रालयले जनाएको छ । विदेशमा रोजगारी वा व्यवसाय गरी आर्जन गरेको वा विदेश भ्रमणका लागि सटही सुविधा अन्तर्गत प्राप्त गरेको विदेशी मुद्रामध्ये बचत हुन आएको विदेशी मुद्राका लागि यस्तो व्यवस्था रहेको स्मरण गराएको हो । यसबाहेक स्रोत नखुलेको नगद कहीँ कतै भेटिएमा प्रचलित कानुनबमोजिम अनुसन्धान तथा कारबाही गर्न सबै निकायलाई सक्रीय गराइएको मन्त्रालयले जनाएको छ ।

Health Tips Ad Road Block