ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

‘नेपाल सुरक्षित छ, पर्यटकले आफ्नो भ्रमण स्थगन गर्नुपर्ने स्थिति छैन’

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजीको प्रदर्शन र त्यसपछिका विकसित घटनाक्रमले नेपालको पर्यटन क्षेत्र कता जाने भन्ने अन्योलता रहेको छ । यसक्रममा पर्यटकहरुलाई कुनै क्षति नभए पनि नेपाल आउन चाहेकाहरुले आफ्नो भ्रमण स्थगन गर्न थालेका छन् । लयमा फर्कन लागेको पर्यटनलाई पछिल्लो घटनाक्रमले धक्का लागेको छ । यद्दपि नेपाल सुरक्षित गन्तव्य हो । अहिले नयाँ अन्तरिम सरकार पनि गठन भइसकेको छ र निर्वाचनको मिति तोकिसकेको अवस्था छ । पछिल्ला घटनाक्रमपछि नेपालको पर्यटन अब कता जाला भनेर अर्थप्रणाली डट कमले नेपाल पर्यटन बोर्डका सदस्य एवं नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियासँग कुराकानी गरेको छ । हेरौं नाट्टा अध्यक्ष थपलियासँगको कुराकानीको सम्पादित अंशः

पछिल्लो परिघटनाले नेपालको पर्यटन अब कता जाला ?

अहिले एकदमै अप्ठ्यारो स्थितिमा हामी छौं । नसोचेको घटनाहरू भएका छन् । धेरै मानिसहरूको मृत्यु भएको छ । विभिन्न दूतावास (एम्बेसी) र कुटनीतिक नियोग (डिप्लोम्याटिक मिसन)हरूले आफ्नो देशको सुरक्षा होस् भनेर ट्राभल एडभाइजरी पनि जारी गरेका छन् । अब चाँडै नै नयाँ आन्दोलन र हिंसाका घटनाहरु भएनन् भने नेपालको पर्यटन पुरानै लयमा फर्किन खासै समय लाग्ने जस्तो देखिन्न । तर यो छ महिनाभित्र निर्वाचन गर्ने विषय पनि रहेको छ । निर्वाचनको समयमा पनि पर्यटकहरु यात्रा गर्नको लागि सजग बन्ने गर्दछन् । अबको दिशा भनेको नेपालको पर्यटन फेरि उठ्ने हो । पुनर्निर्माण गर्ने र बलियो सन्देश प्रवाह गरेर हामी सुरक्षित छौँ भनेर जाने हो । हामीले मात्र भनेर विश्वले पत्याउँदैन । यसका लागि कुटनीतिक नियोगहरुको साथ र सहयोगसँगै उनीहरुलाई प्रयोग गर्नुपर्दछ । केही तयारी गरेर विदेशी ब्लगर, सोसियल मिडिया कन्टेन्ट क्रिएटरहरूलाई नेपाल घुम्न बोलाएर उनीहरुकै मुखबाट नेपाल सुरक्षित छ, हामी पनि घुम्यौँ भनेर भन्न सक्ने अवस्था बनाउन सकिएमा विभिन्न देशका टुर अपरेटरहरू र अन्य व्यवसायीले पनि विश्वास गर्दछन् । अहिले अर्को चुनौती पछि छ । धेरै कैदीबन्दीहरू जेल बाहिर छन् । हतियारहरू पनि बाहिर छन् । त्यसले विदेशीहरू केही सजग बनिरहेका देखिन्छन् । हतियार चाँडै फिर्ता हुने र कैदीबन्दीलाई पुनः जेलभित्रै राख्ने अवस्था बन्न सक्यो भने राम्रो सन्देश बाहिर जानेछ । राजनीतिक अस्थिरता एवं भएका समस्याको समाधान समयमै भयो भने फेरि नयाँ ढंगले नेपालको पर्यटन अगाडि बढ्न सक्दछ ।

पर्यटनमा भएको क्षतिको विवरण

आन्दोलनका कारण अहिले पर्यटनमा भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ । होटेलहरूका विषयमा होटेल एसोसिएसनले तथ्याँक लिइरहेको छ । अर्को एउटा फर्म बनाएर नाट्टाका सदस्यहरुलाई सातै प्रदेशमा भर्न भनेर पठाइएको छ । त्यसमा कति क्षति भएको छ ? कति स्थगन भयो वा भएन ? पुँजीगत क्षति भयो कि भएन ? अब दीर्घकालमा के गर्नुपर्छ ? लगायतका प्रश्नसहित नै पठाइएको छ । त्यसको उत्तर आउने क्रम जारी छ । अन्य संघ संस्थाहरुबाट पनि तथ्याँक संकलन गर्ने काम भइरहेको छ । पछिल्लो समय पर्यटकहरूको क्यान्सिलेसन अर्थात् स्थगन बढिरहेको छ । एडभेन्चर र माउन्टेन टुरिजममा जानेहरूको स्थगन भने कम छ । कल्चरल टुर गर्नेहरूको क्यान्सिलेसन धेरै बढी छ । यसलाई रोक्न समयमै राम्रो सन्देश प्रवाह गर्न सक्नुपर्दछ । नेपाल आउनका लागि भुक्तानी गरिसकेकाहरूको क्यान्सिलेसन भने त्यति छैन । अरु प्रक्रियामा रहेकाले अलि पछि आउँछु भन्ने जवाफ दिइरहेका छन् । पर्यटन बोर्ड र विभिन्न एसोसिएसनहरूसहित सरकारले आफ्नो हिसाबले काम गरिरहेको छ । निजी क्षेत्रले रिपोर्ट बनाएर सरकारलाई यथार्थ वस्तुस्थिति एवं क्षति र अन्य विवरणबारे जानकारी दिने काम भएपछि उचित कदम चालिने आशा गर्न सकिन्छ ।

अब उपाय के अपनाउनु पर्ला ?

दुईवटा विषय छन् । एउटा सूचना एकै हिसाबले सबैतिर जाओस् र कसैमा दुविधा नहोस् भनेर समयमै सूचना प्रवाह गर्ने कार्य एकदमै महत्वपूर्ण रहन्छ । यसलाई एकद्वार प्रणालीमार्फत लैजाने भनेर निर्णय गरिएको छ । नेपाल पर्यटन बोर्डले अन्तिम सूचना दिने भनेर निर्णय भएको छ । त्यो नै आधिकारिक हुनेछ । नाट्टाले पनि विश्वव्यापी सकारात्मक सन्देश फैलाउने काम गरिरहेको छ । एउटै आवाज पुनर्निर्माण सँगसँगै पर्यटनमा पुनर्संरचना र लगानी वृद्धि गर्ने काम गरेमा राम्रो हुनेछ । श्रीलंका आफू संकटमा परेर चाँडै नै लयमा आयो । नेपालले पनि त्यसैगरी उठ्नुपर्ने जरुरी छ । त्यसका लागि सरकार र निजी क्षेत्र पर्यटकलाई स्वागत गर्न तयार छौं भन्ने सन्देश प्रवाह गर्न सकेमा राम्रो हुने छ ।

नयाँ अन्तरिम सरकार आएको छ त्यसप्रति अपेक्षा के छ ?

यो अन्तरिम सरकार छोटो समयका लागि निश्चित उद्देश्य पूरा गर्न आएको हो । यो सरकारबाट धेरै अपेक्षा राखिएको छैन । चुनाव समयमै होस् र थप आतंक नफैलियोस् भन्ने चाहना मात्रै छ । अहिले यो निजी क्षेत्रलाई जुन किसिमको क्षति भएको छ त्यसमा बीमाले सक्ने रकम आउनेछ । बाँकी रकम सरकारले सहुलियत एक/दुई प्रतिशत ब्याजदर अथवा त्यो भन्दा कम ब्याजदरमा लामो समय अवधिमा तिर्न मिल्ने ऋण योजना बनाइदिएर दियो भने उत्थान हुनलाई सजिलो हुनेछ । बीमा नभएकालाई यसमा सबै सहयोग गर्नुपर्दछ । सरकारसँग ढुकुटीमा रकम पर्याप्त भएको हुनाले यो काम गर्न सकेमा व्यवसायीमा उत्साह जाग्नेछ । अन्तरिम सरकारसँग यो माग छ कि पर्यटनमा भएको क्षतिहरूको समयमै राहत, मलमपट्टी लगाउने काम सरकारले गरोस्  । पहिला पहिलाको सरकारका कारण यो परिस्थिति भएको हो । त्यसको अविच्छिन्न उत्तराधिकारी अहिलेको सरकार हो । त्यसै कारणले सरकारले यो काम गर्नुपर्दछ ।

व्यवसायीलाई र विश्वव्यापी सन्देश के छ ?

हाम्रो व्यवसायीलाई सल्लाह यो छ कि हामी अहिले हतास मनस्थितिमा नपुगौं । नेपाल असाध्यै सुन्दर छ । यो सुन्दर देशमा नागरिक हुन पाउनु नै सौभाग्य हो । विश्वभरि नै यस्ता किसिमका आतंकहरू धेरै देशमा छन् । अन्त्य भएको छैन । कतिपय काम छोडौँ भन्ने मनस्थितिमा पनि देखिनुभएको छ । अब त्यस्तो होइन हामी सबै मिलेर थप सशक्त भएर उठ्नुपर्दछ । देशको सेवा गर्नु छ । हतारिएर नयाँ निर्णय गर्नु उचित हुँदैन ।

यता विश्व बजारलाई पनि नेपालमा तपाईँहरूको अझै आवश्यकता छ भन्न चाहन्छौं । विश्व बजारले हामीलाई माया गर्नुपर्ने समय आएको छ । हामीलाई पैसा चाहिँदैन, पर्यटकहरू पठाइदिनुस् । हामीलाई एकपटक दिएको पैसाले केही पनि हुँदैन । त्यसकारणले विश्व बजारलाई एकपटक फेरि नेपाल भ्रमण गरेर यहाँको अर्थतन्त्रलाई सहयोग गर्न अपिल गर्दछु । यो अवधिसम्म नेपाल सुरक्षित छ किनकि नेपालका धेरै मानिसहरूको मृत्यु हुँदा पनि कोही पनि पर्यटकको मृत्यु भएको छैन । अप्ठ्यारो परेको छैन । यस्तो संकटको बेलामा पनि आन्दोलनकारीले पर्यटकलाई बाटो छोडेर जान दिएको अवस्था छ । कफ्र्युको समयमा पनि हामीले पर्यटकलाई घुमाइरहेका छौं । नेपाल सरकार र नेपालको समुदायले पर्यटकलाई असाध्यै माया गर्दछन् । त्यसैले नेपाल सुरक्षित गन्तव्य हो । हामी सबैले अझै नेपाल सुरक्षित बनाएर पर्यटकको आत्मविश्वास अझै बढाउनुपर्ने खाँचो छ । त्यो हामी गर्छौं । तपाईँहरूको नेपाल घुम्ने योजना छ भने त्यसलाई स्थगन नगर्न सबैलाई अनुरोध छ ।

Health Tips Ad Road Block