काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज भदौ ३ गतेदेखि हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । यस अनुसार अब हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन भएको छ । कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २७ गते बुकक्लोज गरेको थियो । कम्पनीको हकप्रद शेयरमा भदौ २३ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कुमारी बैंकको ललितपुर, सिटिजन्स बैंक इन्टरनेशनलको कुमारीपाटी, ठीमी, विराटनगर, बिर्तामोड, विरगंज, सुर्खेत, जनकपुर, नेपालगंज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौँडा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि हकप्रदमा आवेदन दिन सक्नेछन् ।
हकप्रद निष्काशन तथा बाँडफाँडपश्चात कम्पनीको चुक्ता पूँजी ९३ करोड १४ लाख २८ हजार ६०० रुपैयाँ पुग्नेछ ।






















