काठमाडौं । जिल्ला होटल व्यवसायी संघ, काठमाडौंद्धारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा निर्मित ‘यात्रु सहायता कक्ष’को उद्घाटन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेको उपस्थितिमा ‘यात्रु सहायता कक्ष’ को उद्घाटन गरिएको हो । संघीय संसद्का सभासद नगेन्द्र कुमाल, नेपाल पर्यटन बोर्डका पूर्व उपाध्यक्ष चन्द्रप्रसाद रिजाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक हंशराज पाण्डे लगायत पर्यटन क्षेत्रका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।
‘यात्रु सहायता कक्ष’ उद्घाटन गर्दै मन्त्री पाण्डेले विमानस्थलबाट आउने विदेशी र स्वदेशी यात्रुहरूका लागि सहायत कक्षले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । उनले संभव भएसम्मका सूचना दिने केन्द्र सहायता कक्ष बन्नुपर्ने सुझाए । उनले विभिन्न अन्तर्राष्ट्रिय भाषाको ज्ञान भएका व्यक्तिहरुले सवा दिन सकेमा विदेशी यात्रुलाई अझ सहज हुनेमा जोड दिए ।
कार्यक्रममा प्राधिकरणका महाप्रबन्धक पाण्डेले विभानस्थलको पार्किङ लगायतको संचालन पिपिपी मोडेलको नमुना भएको भन्दै आगमन क्षेत्रमा निजी क्षेत्रको सहयोगमा सहायत कक्ष बन्नु उदाहरणीय रहेको धारणा राखे । होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष शेरु थापाले विमानस्थलमा सहायता कक्ष स्थापनाका लागि धेरै पहिलेदेखि आवाज उठेपनि अहिले सम्भव भउको धारणा राखे । यता जिल्ला होटल व्यवसायी संघका अध्यक्ष सुरेश बरालले नेपालको व्यवसाय र पर्यटन क्षेत्रलाई थप सबल बनाउन होटलहरु २४ सैं घण्टा सञ्चालनको वातावरण मिलाइदिन सरकारसँग माग गरे । उनले पर्यटकसहित सहायता कक्षको स्थापनाले पर्यटन क्षेत्रमा सहजता ल्याउने विश्वास व्यक्त गरे ।
सो अवसरमा मन्त्री पाण्डेले यात्रु सहायता कक्ष सञ्चालक समिति संयोजक तथा इकाइ अध्यक्ष एवं संचालकलाई सञ्चालनको सम्पूर्ण अख्तियारीसहित सहायता कक्षको साँचो हस्तान्तरण गरेका थिए ।
यस सहायता कक्षमार्फत नेपाल आउने नेपाली दाजुभाइ तथा विदेशी पाहुनाहरूलाई होटल तथा पर्यटनसम्बन्धी जानकारी उपलब्ध गराउने, पर्यटकीय क्षेत्रहरूको प्रचार–प्रसार गर्ने र यात्रुहरूलाई आफ्नो गन्तव्यसम्म सहजरूपमा पुग्न सहयोग गर्ने उद्देश्य राखिएको छ ।






















