काठमाडौं । ढिलो पानी परेका कारण यस वर्ष देशभर रोपाई प्रभावित बन्न पुगेको छ । अन्नको भण्डार मानिने तराई/मधेशमा सबैभन्दा कम रोपाई भएको सरकारी तथ्याँक छ । ढिलै भएपनि विस्तारै योक्रममा सुधार देखिएर राेपाईकाे क्षेत्रफल बढेर गएको छ । यस बीचमा मधेस प्रदेश सुख्खा क्षेत्र भनेर संघ सरकारले घोषणा नै गर्यो । पछिल्लो समय भएको वर्षाका कारण भने देशका अधिकाँश भू–भागमा रोपाई सकिने चरणमा छ । यसै सन्दर्भमा धानबाली लगाउँदा किसानले उत्पादनदेखि धान भित्र्याउँदासम्म के–के विषयमा विशेष ध्यान दिनुपर्दछ भनेर केन्द्रीय कृषि प्रयोगशाला, हरिहरभवन, ललितपुरका माटो विज्ञ राजु ढकालसँग अर्थ प्रणाली डट कमले गरेको कुराकानीको सम्पादित अंशः
यतिबेला गर्मी ठाउँमा धान रोपाई सकिन लागे तापनि अलि चिसो ठाउँतिर धान गोड्ने बेला भइरहेको छ । सघन तरकारी खेतीदेखि लिएर विभिन्न आलु खेती गर्ने किसानहरूले चाँडै रोपेर खेतमा धान गोड्ने बेला अथवा रोपिसकेपछिको स्याहारसुसार गर्नुपर्ने बेला भएको छ । यसो भनिरहँदा हामी सबैको आशा हुन्छ सकेसम्म उत्पादन धेरै लिने ।
उत्पादन धेरै लिन गर्नुपर्ने कार्य
उत्पादन धेरै लिनका लागि धान रोपिसकेपछि एक महिनाभित्रमा गर्नुपर्ने कर्महरूले महत्वपूर्ण भूमिका खेल्दछ । धान रोपिसके पछाडि सात/आठ दिन पानी छिपछिपे तरिकाले राख्नुपर्दछ । यसो गर्दा रोपेको धानहरू सबै मर्दैन । राम्रोसँग सर्दछ । पानी धेरै लगायो भने मात्रै हाम्रो उत्पादन बढी हुन्छ भन्ने किसानहरूमा धारणा रहेको पाइन्छ तर पानी धेरै जमिराख्यो भने धानको गाँजहरू फैलिनका लागि अवरोध पुग्दछ । त्यसकारण जहिले पनि पानी एकपटक लगाउने त्यसपछाडि सुक्न दिने र सुकिसकेपछि अलिअलि धाँजा फाट्नुपर्दछ । धाँजा फाट्ने जस्तो अवस्था देखिएपछि फेरि पानी लगाइदिने एवं रितले खेत सुकाउने गर्नुपर्दछ । यसो गर्दा झारहरू बढी आउन सक्दछ तर यस्तो प्रक्रियाले धनको गाँजको संख्या एकदमै वृद्धि हुन्छ ।
यसैगरी महिना दिन, ३५/४० दिनसम्म धानले गाँजहरू राम्रोसँग निकाल्ने बेला हुन्छ । यो बेलामा हामीले विशेष ध्यान दिनुपर्दछ । धानको गाँज जति ठूलो निकाल्न सक्यो त्यति बालाहरु बढ्दछ र बोटको संख्या बढ्दछ । त्यसले उत्पादन वृद्धि हुन्छ ।
धानको गाँज लागिसकेपछि पानी जमाउने
एक त हामीले धान रोप्दा नै उचित दूरी कायम गर्नुपर्दछ । उचित दूरी कायम गरिसके पछाडि हामीले गाँज कसरी निकाल्ने भन्ने विषय ध्यान दिनुपर्दछ । त्यस्तै मलहरूदेखि लिएर विभिन्न कुराहरूमा ध्यान दिनुपर्दछ । यसरी गाँजको सङ्ख्या राम्रो भइसके पछाडि पानीको मात्रा बढाएर खेतमा पानी जमाउनु पर्दछ । किसानको भाषामा चार अम्बल जति पानीको मात्रा जमाउनु पर्दछ । त्यसपछाडि धानलाई गोड्ने, युरिया मल राख्ने काम गर्नुपर्दछ । बुझ्नुपर्ने कुरा के छ भने धान रोप्दाखेरि नै पोटास मल र डीएपी/युरियाको मिश्रण गरेर आदि भाग राखिनुपर्दछ । रासायनिक मलहरु ५०% रोप्दाखेरि राखिन्छ । त्यसको २५% गोडेपछि राख्नुपर्दछ । २५% बाला निक्लिने बेलामा र धान पोटाउने बेलामा मल दिनुपर्ने हुन्छ । अब पानी जमाएपछि झारहरू पनि आउन सक्दैन । बोटको संख्यामा वृद्धि हुन्छ । त्यसपछि धान लह लह तरिकाले फस्टाउँछ । त्यसले धानको उत्पादन राम्रो हुन्छ ।
उत्पादन राम्रो गर्नका लागि जब धान पोटाउँछ २५% नाइट्रोजन राखेर एक बित्ता जति पानी जम्ने गरी मज्जासँग थुन्नुपर्छ । जबसम्म धानको बाला निक्लिएर धानमा दुध पस्दैन त्यो बेलासम्म र अलिअलि पहेँलो नभएसम्म हामीले प्रशस्त मात्रामा पानी दिनुपर्दछ । त्यसपछि पानी काटेर हामीले खेतलाई सुक्खा राख्नुपर्दछ । पँहेलो देखिसके पछाडि एवं धान पहेलो र पुष्ट भएर पाकेपछि धानको बियाँ निकालेर हेर्दा कुटुक्क कुटुक्क गर्ने भएको छ छैन हेर्नुपर्दछ । अथवा चामल सग्लो सग्लो निस्किने देखिन्छ भने त्यसपछाडि धान काट्नुपर्दछ । धान काटिसके पछाडि चिस्यान छ भने सुकाउने काम गर्दा रोगकिराबाट बचाउन सकिन्छ । यसरी किसानहरूले धान बालीबाट बढीभन्दा बढी उत्पादन लिन सक्दछन् ।























