काठमाडौं । सन् २०२५ को वसन्त ऋतुमा पर्वतारोहणमार्फत प्रत्यक्षरुपमा ८० करोडभन्दा बढी राजश्व संकलन भएको छ । पर्वतारोहण संचालक संघ नेपालले डोरी टाँग्ने कार्यमा संलग्न पर्वतारोही एवं कीर्तिमानी आरोहीहरुलाई काठमाडौंमा नगद पुरस्कार र सम्मानपत्रले सम्मानित गर्दै यसबारे जानकारी दिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रि पाण्डेको उपस्थितिमा पुरस्कार तथा सम्मान वितरण गरिएको हो ।
साे अवसरमा संघका अध्यक्ष डम्बर पराजुलीले भने, ‘यस संस्थाको सक्रिय एवं चुस्त समन्वयका कारण पर्वतारोहण गतिविधिहरु संचालनबापत राज्यकोषमा प्रत्यक्षरुपमा सन् २०२५ को वसन्त ऋतुमा रु. ८० करोडभन्दा बढी राजश्व संकलन हुनु पनि हामीहरु सबैका लागि सन्तोषको विषय रहेको हामी स्मरण गराउँदछौ । हामी पर्वतारोहण संचालकहरुले माथि उल्लेखित राज्यकोषमा प्रत्यक्ष दाखिल गरेको राजश्व मात्र होईन । हामीले पर्वतारोहण संचालन गर्दा उपभोग गरेको हवाई तथा स्थल यातायात, होटल, रेष्टुरेण्ट, आरोहण मार्गमा खाने बस्नको लागि गरिएको खर्च, कम्पनीले आय–ब्याय बापतको राजश्व, मूल्य अभिवृद्धि कर लगायत अन्य प्रत्यक्ष/अप्रत्यक्ष खर्चहरु र उक्त खर्चबापत बजार चलायमान गर्न पुर्याएको योगदानलाई पनि पुनः स्मरण गर्न चाहन्छौं । विगतमा कोभिडको समयमा विदेशी मुद्रा संचितिमा आएर विदेशमा रहेको विदेशी मुद्राको संचितिबाट काम चलाउनुपरेको अवस्था स्मरण गर्दै, कोभिडपश्चात जब पर्यटन ब्यवसाय आफ्नो लयमा फर्कने क्रममा विदेशी मुद्राको संचितिको बढ्दो अंक रहेको हामी सबैमा स्मरण गराउँदछौं ।’
२०७० सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन उद्योग महाशाखामा सहसचिवको संयोजकत्वमा इओए नेपाल, एनएमए, टान र पर्वतारोहण शाखाका प्रमुख सदस्य सचिव रहने गरी गठित पाँच सदस्यीय आरोहण सुधार सुझाव समितिले दिएको सुझावहरुलाई कार्यान्वयन गर्ने हो भने हाल पर्वतारोहण संचालनका क्रममा देखिएका फोहरमैला, आधार शिविर, सम्पर्क अधिकृत, आरोही एवं आरोहणमा संलग्न सबैका समस्याको व्यवस्थापन सहज तरिकाबाट हुनसक्ने संघको ठहर छ । यसबारे अध्यक्ष पराजुलीले सरकारको ध्यानाकर्षण गराउँदै आवश्यक परिमार्जनसहित लागु गर्न अनुरोध गरेका छन् ।
त्यस्तै केही बर्षदेखि वसन्त ऋतुबाट सगरमाथा आधार शिविरमा फिल्ड अफिस स्थापना गरी आरोहण अभियानमा सहजिकरण एवं अनुगमनको शुरुवात भएकोमा उनले स्वागत गर्दै भौतिक पूर्वाधारसहित त्यसको निरन्तरताका लागि सरकारलाई अनुरोध गरेका छन् । संघले फोहरमैला धरौटी खारेज गरी फोहरमैलाको ब्यवस्थापनका लागि हिमालहरुको वर्गीकरण गरेर हिमालहरुमा आरोहण गर्ने आरोहीहरुबाट प्रति आरोही रकम उठाउने र फोहरमैला व्यवस्थापन कोष खडा गरी जम्मा भएको रकमबाट प्रत्येक वर्ष हिमालहरु पालैपालो सरसफाई अभियान संचालन गर्ने व्यवस्थाका लागि आवश्यक कानुनी प्रवन्ध मिलाउन सरकारलाई स्मरण गराएको छ ।
पर्यटन ऐन, नियमलाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने मागलाई दोहोर्याउँदै अध्यक्ष पराजुलीले केही विषयमा व्यवसायीमाझ अझै घनिभुत छलफलको व्यवस्थासहित परिमार्जनमा जानुपर्ने सुझाव दिएका छन् ।
कार्यक्रममा पर्यटन मन्त्री पाण्डेले सगरमाथा सामान्य मानिसका लागि आकाशको फलजस्तै रहेको अवस्थामा नेपाली आरोहीले यसलाई सहज र सरल बनाएकोमा धन्यवाद दिएका छन् । जोखिम मोलेर नेपाल प्रवर्द्धन गर्नेहरुबारे गम्भिर भएर आफूले सोचेको बताउँदै राम्रा नीति, कानुन बनाउने पक्षमा लागेको मन्त्री पाण्डेको भनाइ छ । यस क्षेत्रमा देखिएका विकृति, विसंगति निराकरणका लागि सुझाव दिन आग्रह गर्दै मन्त्री पाण्डेले आउने क्याबिनेटबाट पर्यटन नीति पास हुने जिकिरसमेत गरे । जलवायु परिवर्तनका कारण हिमालदेखि समुन्द्रसम्म असर परिरहेकोमा उनले चिन्ता व्यक्त गरेका छन् ।

संस्थाले हरेक वर्ष वसन्त ऋतुपश्चात सगरमाथा/ल्होत्से हिमालमा पर्वतारोहण अभियान सम्पन्न गर्न पर्वतारोहण अभियानको डोरी टाग्ने कार्यमा संलग्न पर्वतारोही र कीर्तिमानी आरोहीहरुलाई नगदसहित सम्मानपत्रले सम्मान गर्ने गर्दछ ।

तस्विरः शंकर प्रधानाङ्ग






















