ललितपुर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्राप्त संघीय लोकतन्त्रीक गणतन्त्रको विरुद्धमा ठूलो रकम खर्चेर राजावादीहरुले भ्रमको खेती गरेको आरोप लगाएका छन् । एमाले बागमती प्रदेश कमिटिद्धारा ललितपुरको गोदावरीमा आयोजित निर्वाचित वडा अध्यक्षहरुको प्रशिक्षण भेलालाई संवोधन गर्दै महासचिव पोखरेलले यस्तो आरोप लगाएका हुन् ।
‘लामो बलिदानीले प्राप्त लोकतन्त्र शंसारमै उत्कृष्ठ व्यवस्था हो’ महासचिव पोखरेलले एमालेबाट निर्वाचित बाग्मती प्रदेशका वडा अध्यक्षहरुलाई निर्देशन दिदैं भने, ‘त्यसलाई कमजोर बनाउन पछिल्लो समय राजावादीहरु सामाजिक सञ्जाल र सञ्चार माध्यममा मोटो रकम लगानी गरेर व्यवस्थाका विरुद्धमा लाग्ने काम गरेका छन् ।’
राजाले प्रत्यक्ष सञ्चालन गरेको शासन प्रणालीभन्दा छोटो अवधीको गणतन्त्रात्मक शासन व्यवस्थाले नागरिकलाई बहुआयामिक क्षेत्रमा राहत दिने काम गरेको, विकास निर्माणको काममा फड्को मारेको दृष्टान्त प्रस्तुत गर्दै उनले गणतन्त्रको विकल्प खोज्ने राजावादीहरुको दिवास्वप्ना कहिल्यै पुरा नहुने ठोकुवा गरे ।
‘पञ्चायती व्यवस्थामा धनी र गरिबबीचको खाडल २१ गुणा थियो, त्यो घटेर अहिले घटेर ६ गुणामा झरेको छ । मान्छेको औसत आयू ५४ बाट बढेर ७४ वर्ष पुगेको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको भौतिक पूर्वाधारको विकासको अवस्था हेर्दा निकै आकाश जमिनको फरक छ । अझै नागरिकमा आशा फैलाउने गरी देशभर ठूलो ठूला विकास निर्माणका परियोजनाहरु सञ्चालनमै छन् । छोटो अवधीमा प्राप्त उपलब्धीहरु अध्ययन नगरेर लोकतान्त्री व्यवस्थामा काम भएन भन्ने भ्रमलाई चिर्दै आशा जागाउने अभियानको अग्रमोर्चामा वडा सरकार लाग्नु पर्छ,’ महासचिव पोखरेलले थपे ।
कार्यकारी अधिकार र बजेटका हिसाबले हाम्रा वडा सरकारहरुसँग कम भएपनि प्रत्यक्ष रुपमा तिनै तहका सरकारलाई नागरिकको चुल्होमा जोड्ने काममा निकै महत्वपूर्ण भएकाले नागरिकमा आशा जगाउने कामको नेतृत्व वडाले लिनुपर्नेमा उनले जोड दिए ।
नागरिकलाई सेवा प्रवाह गर्ने र सुख, दुःखमा साथदिने दायित्वका हिसाबले भन्ने हो भने सबैभन्दा बढि जिम्मेवारी तपाईहरु (वडा सरकारसँग छ । वडा अध्यक्षलाई जनताले आफ्नो अविभावकका रुपमा लिने गरेका छन्, त्यसैले पनि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको कार्यकारी प्रतिनिधिका रुपमा काम गर्न वडा अध्यक्षहरुलाई महासचिव पोखरेलले निर्देशन दिए । गणतन्त्रले के दियो भनेर युवा पुस्तालाई हामीले बुझाउन नसकेको उल्लेख गरेका महासचिव पोखरेलले गणतन्त्रका सुन्दर पक्षलाई जनस्थतरमा बुझाउने कामको नेतृत्व सत्ता र पार्टीको वडा तहलाई लिन निर्देशन दिए ।
नेपालमा लामो समयको एकात्मक राज्य व्यवस्थालाई अन्त्य गर्दै संघीय लोकतान्त्रीक गणतन्त्रिक व्यवस्था स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा आगामी जेठ १५ गते बागमतीका सबै वडामा नागरिक उत्सवका रुपमा मनाउन निर्देशन दिएका महासचिव पोखरेलले एमालेले काठमाडौंमा विषेश कार्यक्रमको आयोजना गर्ने जानकारी दिए ।
देशका विभिन्न समुदायमा प्रचलित ४ सय भन्दा बढी साँस्कृतिक झाँकीसहितको र्याली प्रर्दशन गर्दै विषेश उत्सवका रुपमा काठमाडौंमा गणतन्त्र दिवस मनाउन लागिएको उल्लेख गरेका पोखरेलले उक्त कार्यक्रममा सहभागि हुन सबैलाई सार्वजनिक अपिल समेत गरेका छन् ।
ललितपुरको गोदावरी स्थित होटल भ्यू भृकुटीमा आइतबारदेखि शुरु भएको वडा अध्यक्षहरुको भेलामा बागमतीका १० वटा जिल्लाबाट एमालेबाट निर्वाचित ३५९ जना वडाअध्यक्षहरु मध्ये ३५० जना वडा अध्यक्षहरु सहभागी भएको एमाले बाग्मती प्रदेशका इन्चार्ज डा. राजन भट्टराईले जानकारी दिएका छन् ।





















