स्याङ्जा । ग्रामिण भेगदेखि शहरी क्षेत्रसम्म सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आईरहेको गरिमा विकास बैंक लिमिटेडले स्याङ्जा जिल्लाको विरुवा र अर्जुनचौपारीमा २ नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । बुधबार यी २ शाखा कार्यालयहरु संचालनमा ल्याइएको हो ।
विरुवा शाखाको समुद्घाटन विरुवा गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुँवर र बैंकका अध्यक्ष दिलिप प्रताप खाँडले संयुक्तरुपमा गरेका हुन् । त्यसैगरी अर्जुन चौपारी शाखाको उद्घाटन अर्जुन चौपारी गाउँपालिकाकी उपाध्यक्ष सपना गुरुङ र बैंकका अध्यक्ष दिलिप प्रताप खाँडले संयुक्तरुपमा गरेका हुन् ।
शाखा कार्यालय उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रतिनिधिहरु, उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।
सञ्चालनमा आएका नयाँ शाखा कार्यालयहरुबाट उक्त क्षेत्रका स्थानीय बासिन्दा, व्यवसायिक फर्म/कम्पनी तथा अन्य संघसंस्थाहरुलाई उत्कृष्ट सेवा प्रवाहमा विकास बैंक प्रतिबद्ध रहेको र उक्त क्षेत्रको समग्र आर्थिक विकासमा विकास बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास विकास बैंकले लिएको छ ।
हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटिएम मेसिनमार्फत करिब ९ लाख ग्राहकहरुलाई बैकिङ सेवा प्रवाह गर्दै आईरहेको छ ।