विराटनगर । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक अवस्था लयमा आएको दाबी गरेका छन् । विराटनगर विमानस्थलमा संचारकर्मीसँगको कुराकानीमा उनले दश महिना अघिको आर्थिक अवस्था र अहिलेको अवस्थामा उल्लेखनीय सुधार आएको दाबी गरेका हुन् ।
गृहमन्त्री लेखकले संचारकर्मीसँग भने, ‘दश महिना पहिलाको आर्थिक अवस्था र अहिलेको आर्थिक अवस्थामा धेरै फरक देख्नु हुन्छ । मुलुकको अर्थतन्त्र लयमा आएको छ । विदेशी मुद्राको संचिति बढेको छ । दोश्रो कुरा आर्थिक सूचकांक सकारात्मक बनेका छन् । यो राष्ट्र बैंकको तथ्यांक हो मैले भनेको होइन । अर्को कुरा कानुन दश महिना पहिला कति विद्येयक दर्ता भएर र कतिमा काम भयो र अहिले कति दर्ता भएर कति कानून बने भनेर हेर्दा पनि प्रष्ट हुन्छ । ’
उनले गठबन्धन सरकार बनेपछि दश महिनामा मुलुकले राजनीतिक स्थिरता पाएको उल्लेख गरेका छन् । लेखकले अहिले प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिन जानु नपरेको भन्दै वर्तमान सरकारको पहिलो उद्देश्य राजनीतिक स्थिरता रहेको बताए । ‘यो गठबन्धन सबै खालका निराशालाई आशामा बदल्न बनेको सरकार हो । त्यसैले आशाले आम मानिसलाई सकारात्मकता तिर डोर्याउँछ ।’ उनले भने, ‘संविधान र व्यवस्था विरोध गतिविधि कुनै पनि हिसाबमा स्वीकार्य हुँदैन । जुनै तहमा पनि त्यसलाई स्वीकार गर्न सकिन्न । जनताको बलिदानबाट स्थापित भएको गणतन्त्र र संविधानका विरोधमा कोही जान भने त्यसलाई जनस्तरबाट र सरकारबाट पनि निरुत्साहित गरिन्छ ।’
नीतिगत भ्रष्टचार रोक्नका लागि आएको अख्तियार विद्येयक मिलेमतोमा अड्किएको छ नि ? भन्ने पत्रकारको जिज्ञासामा गृहमन्त्री रमेश लेखले भने ‘त्यसमा छलफल भइरहेको छ । संसदमा भएका सबै विद्येयकलाई छलफलबाट टुंगोमा पुर्याउँछौ । भ्रष्टचारलाई निर्मूल पार्ने विषयमा हामी अघि बढेका छौं । अवान्छित गैरकानूनी गतिविधिलाई निष्पक्ष स्वतन्त्र र पारदर्शी ढंगले त्यसलाई कारवाही गर्ने प्रक्रियामा सरकार अघि बढेको छ ।’
‘फोटो खिचेको भरमा, टेलिफोन गरेको भरमा र कसैसँग भेटेको भरमा समाचार बन्न सक्ला तर यो सरकार पुरा अवधि टिक्छ । फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन । यो गठनबन्धन कांग्रेस एमालेको बीचको सहमति अनुसार पुरा अवधि सरकार टिक्छ । ’ उनले भने, ‘यो दश महिनामा सुशासन, कानुन निर्माण, नीतिगत र आर्थिक सुधारमा पर्याप्त काम भएका छन् । उद्योगधन्दा संचालनमा सहज होस् भनेर नयाँ कानून आएका छन् । भूमि सुधारका लागि कानून र आयोगहरु बनेका छन् । निरास हुनुपर्ने अवस्था छैन । अपेक्षा गरेजति काम हुन सकेनन् होला तर निरासा हुनुपर्ने अवस्था छैन । सरकारले आशा जगाउने गरि काम गरेको छ ।’






















