काठमाडौं । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, व्यापार तथा निकासी प्रवर्दन केन्द्र (टीइपीसी) तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह–आयोजनामा काठमाडौंमा आयोजना हुने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी पुरा भएको छ ।
महासंघले मंगलबार महासंघ सचिवालय टेकुमा पत्रकार सम्मेलन आयोजना गरी मेलाको तयारीबारे जानकारी गराएको हो । २०८२ वैशाख २५ देखि २९ गतेसम्म भृकृटीमण्डपमा आयोजना हुने मेलामा नेपालसहित चीन, भारत, पाकिस्तान र बङ्गलादेशका स्टलहरु सहभागी हुने र थाइल्याण्डको सहभागिता रहने महासंघले जनाएको छ।
पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्ष हेमराज ढकालले मेलाको यो दशौं संस्करण भएको जानकारी दिँदै मेलामा मेड इन नेपाल पेभेलियन तथा वस्तुगत संघहरुको पेभेलियन रहने जानकारी जानकारी दिए । यस्तै मेलामा मेड इन नेपाल सो, हस्तकला उत्पादनहरु, वस्तुगत संघहरुका उत्पादनहरु साथै चार पांग्रे र दुई पांग्रे विद्युतीय गाडी (इभी) गाडीहरु समेत उपाध्यक्ष ढकालले जानकारी दिए । उनले नेपालमा व्यवस्थित प्रदर्शनी गर्ने स्थलको अभावले सोचेअनुरुप मेला महोत्सव गर्न नसकिरहेको भन्दै सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताए । उपाध्यक्ष ढकालले अब अरु सबै तन्त्र छोडेर अर्थतन्त्रलाई फोकस गर्नुपर्ने बताए ।
अर्का उपाध्यक्ष सुरकृष्ण वैद्यले मेलाले नेपाली उत्पादनहरुको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उकास्न मेलाले सघाउ पुर्याउने बताए । उनले स्वदेशी तथा विदेशी गरी कुल २५० भन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब २० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने अपेक्षा राखिएको बताए ।
यस्तै महासंघका केन्दीय सदस्य तथा व्यापार मेला समितिका सभापति उमेश डाल्मियाले मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निमार्ण सम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरु राखिने र मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानीबारे छलफल समेत हुने बताए ।
व्यापार तथा निकासी पवद्र्धन केन्द्र (टीइपीसी) का वरिष्ठ अधिकृत मीन बहादुर कुँवरले नेपाली वस्तुको अन्तर्राष्टिय बजारीकरणका लागि मेला फलदायी हुने बताए ।
मेलामा चीनबाट पावर ट्रान्समिसन इक्युपमेन्ट, इलेक्टिकल्स तथा अटो मोबाइल्स, फुड एण्ड वेभरेज, मिलक प्रडक्ट, किचन वेयर, गार्मेन्टस्, समर्टवाच, बंगलादेशबाट गार्मेन्ट्स, पाकिस्तानबाट लेदर तथा गामेन्ट्स स्टलहरु रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
मेलाको मुख्य प्रायोजकका रुपर्मा आइएमइ पे तथा स्पोन्सरका रुपमा हेरिटेज कार्पेट रहेको प्यापार मेला समितिका उपसभापति सविन श्रेष्ठले जानकारी दिए । मेलामा जेष्ठ नागरिक तथा फरकरुपले समक्ष नागरिकहरुलाई निःशुल्क तथा विद्यार्थीहरुलाई उनीहरुको प्रवेशपत्रका आधारमा पचास प्रतिशत प्रवेश छुटको व्यवस्था समेत गरिनुका साथै विभिन्न जिल्लाहरुमा आयोजना भएका मेलाहरुमा उत्कृष्ट स्टल तथा उत्पादनलाई एनआइटीएफमा निःशुल्क स्टल उपलब्ध गराईने महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।






















