मोरङ । आगामी आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले ल्याउने बजेटका सन्दर्भमा उद्योग व्यवसाय क्षेत्रको विविध विषयलाई समेटि तयार पारेको सुझाव उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई भेटि उद्योग संगठन मोरङका तर्फबाट पेश गरिएको छ । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठसहित गएको प्रनितिधि मण्डलले भेटघाट तथा छलफलको क्रममा उद्योग व्यवसाय क्षेत्रले भोग्दै आएका समस्यालाई गम्भिरतापूर्वक लिई प्रस्तुत सुझावलाई आगामी बजेटमा सम्वोधन गर्न अर्थमन्त्री समक्ष आग्रह गरेको छ ।
छलफलको क्रममा संगठनका अध्यक्ष राकेश सुरानाले उद्योग व्यवसाय क्षेत्रले अहिले पनि ६ देखि ८ घण्टासम्मको लोडसेडिङ भोग्दै आएकाले प्रशारण लाईन जस्ता पूर्वाधारमा लगानी विस्तार गर्न, जलाशययुक्त आयोजनालाई सम्पूर्ण लगानी फोकस गर्न अनुरोध गरे । उनले विश्वासको वातावरण बनाउन राज्यले उद्योगी व्यवसायीहरुलाई भुक्तानी गर्नुपर्ने छुट सहुलियत, निर्यात अनुदानजस्ता रकमहरु विलम्व नगरी भुक्तानी गर्नका साथै नीतिगत स्थिरता कायम गर्न, खुला सिमाना नियमन गर्न र उधारो कारोबारको नियमन र व्यवस्थापनका लागि स्पष्ट कानुन ल्याउनु पर्नेमा जोड दिए ।
कुल व्यापार लागतमा लजिष्टक खर्च ३० प्रतिशतभन्दा बढी रहेको अवगत गराउँदै अध्यक्ष सुरानाले कोशी प्रदेशकै गेम चेञ्जरको रुपमा रहेको विराटनगर कार्गो रेलको हेण्डलिङ शुल्कको मूल्य परिमार्जन गरी सञ्चालनमा ल्याउन अनुरोध गरे । छलफलको क्रममा अध्यक्ष सुरानाले हाल कतिपय उद्योगको कच्चापदार्थ र तयारी वस्तुबीच भन्सार दरको फरक ३ तहको रहेको छ भने कतिपयमा १ तहको रहेको बताउँदै सबै प्रकृतिको उद्योगलाई एकै प्रकारको दर कायम गर्न अनुरोध गरे । उनले आय कर ऐन २०५८ को दफा ५७ लाई समायानुकुल संशोधन गरी आर्थिक संकटमा परेका लघु घरेलु तथा साना र मझौला उद्योगहरुमा पूजी थप गर्ने वातावरण सिर्जना र हाल स्टार्टअपमा प्रति व्यवसाय १ लाखसम्म बीउ पूँजी अनुदानस्वरुप उपलब्ध गराउँदा सो रकम करयोग्य आय गणना गर्दा खर्च कट्टी गर्न पाउने व्यवस्था रहेको हुँदा सोको सट्टा स्टार्टअपमा लगानी गर्दा आयकरमा छुट दिने व्यवस्था कायम गर्न आग्रह गरे ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले अहिलेको आर्थिक सुस्तता, निरासालाई सम्बोधन गर्ने गरी आगामी बजेट निर्माण गर्न अर्थमन्त्री समक्ष आग्रह गरेका छन् ।
प्रतिनिधि मण्डलमा उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष विपिन कावरा, मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष नविन रिजाल, उपाध्यक्ष अनिल सारडाको सहभागिता रहको थियो ।






















