काठमाडौंं। तेस्रो बिमस्टेक कृषि मन्त्रीस्तरीय बैठक काठमाडौमा सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले संयुक्त वक्तव्य जारी गरेको छ । मन्त्रिस्तरीय बैठकमा ३ देशका मन्त्रीहरुको सहभागीता रहेको थियो । बाँकी ४ सदस्य राष्ट्रका मन्त्री तथा प्रतिनिधिहरु भर्चुअल रुपमा सहभागी थिए । बैठकको अध्यक्षता गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बैठकमा सहभागीहरुलाई स्वागत गर्दै कृषि क्षेत्रको विकासका लागि बिमस्टेक सदस्य राष्ट्रहरुको सहकार्यमा जोड दिए । जल वायु परिवर्तन , विषादीको बढ्दो प्रयोगले बिमस्टेक अन्तर्गतका राष्ट्रहरूमा चुनौती थपेको उल्लेख गर्दैमन्त्री अधिकारीले यसको सामना गर्न सदस्य राष्ट्रबीचको सहकार्य आवश्यक रहेको बताए ।
भारतका कृषिमन्त्री शिवराज चौहानले बिमस्टेक रास्ट्रहरुमा कृषि , पशुपन्छी तथा मत्स्यपालनको अपार सम्भावना रहेको चर्चा गर्दै सदस्य राष्ट्रबीचको सहकार्यलाई अझ बलियो पार्नुपर्नेमा जोड दिए ।
यस अघि बसेको उच्च अधिकारीको बैठकले संयुक्त वक्तव्य तयार पारेको थियो । आज बसेको मन्त्रिस्तरीय बैठकले यसलाई अनुमोदन गरेको हो ।
आजै कृषिमन्त्री अधिकारी र भारतका कृषिमन्त्री शिवराज चौहानबीच द्धिपक्षीय भेटवार्ता भएको छ ।
भेटवार्तामा कृषिमन्त्री अधिकारीले नेपाली कृषिवस्तु निर्यातमा भारत सरकारको सहयोगमा जोड दिए । भेटवार्तामा भारतीय कृषिमन्त्री चौहानले दुई देशको आयात निर्यातमा देखिएका समस्या समाधानका लागि थप गृहकार्य गरि सहजिकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसै गरि भुटानका कृषिमन्त्री लेन्पो योन तेन फुन्थ्सो सँग पनि दिपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा कृषिमन्त्री अधिकारीले भुटान र नेपालबीच कृषि क्षेत्रमा समान समस्या रहेको उल्लेख गर्दै नेपाल र भुटान बीच याकको विकासमा सहकार्य गर्न सकिने बताए । भुटानका मन्त्रीले दुई देशका प्रयासहरु समान र साझा रहेकाले नेपाल र भुटानबीच कृषि क्षेत्रको विकासका लागि थप सहकार्य गर्न चाहेको उल्लेख गरे । भेटवार्तामा दुबै देशको कृषि मन्त्रालयका उच्चअधिकारीको सहभागीता रहेको थियो।





















