skip this News Page Tips Ad Road Block

नेपाल र थाइल्याण्डबीच विभिन्न सम्झौतामा हस्ताक्षर, दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको प्रधानमन्त्रीको दाबी

थाइल्याण्डका प्रधानमन्त्री शिनावात्लाई नेपाल भ्रमणको निमन्त्रणा

Citizenlife ad 2082 falgun to baishak 2083

बैङ्कक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो औपचारिक भ्रमणबाट नेपाल र थाइल्याण्डबीचको आपसी सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् । थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा बैङ्ककमा रहेका प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्सँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भ्रमणबाट दुई मुलुकबीच संस्कृति, पर्यटन, शिक्षा, ऊर्जालगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।
उनले नेपाल र थाइल्याण्डबीच ६५ वर्षदेखि रहेको कूटनीतिक सम्बन्ध र जनता–जनताबीचको सम्बन्धलाई अझ विस्तार गर्ने विषयमा आफूहरुबीच छलफल भएको बताए ।

प्रधानमन्त्री ओलीले नेपालमा होटल व्यवसाय तथा हवाई सेवाजस्ता पर्यटन क्षेत्रमा थाइल्याण्डको लगानी र व्यापारका विषयले आगामी दिनमा प्राथमिकता पाउने विश्वास व्यक्त गरे । “नेपाल र थाइल्याण्डबीच कृषि, व्यापार, पर्यटन, संस्कृतिको गहिरो सम्बन्ध कायम रहेको छ । थाइल्याण्डका लगानीकर्तालाई नेपालमा लगानीका लागि म आह्वान गर्दछु ।”, प्रधानमन्त्री ओलीले भने, “नेपाल र थाइल्याण्डबीचमा व्यापार र पर्यटनको सम्बन्ध राम्रो रहेको छ । अब हामी अन्तरराष्ट्रिय मुद्दाका साथै जलवायु परिवर्तनका बारेमा हातेमालो गरेर काम गर्नेछौँ ।”

प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री शिनावात्लाई नेपाल भ्रमणको निमन्त्रणा दिएको जानकारी दिँदै छिट्टै नेपालको भ्रमण हुने विश्वास पनि व्यक्त गरे ।

यसैबीच नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ती समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । यसैगरी थाइल्याण्डका तर्फबाट संस्कृतिसम्बन्धी समझदारीपत्रमा संस्कृतिमन्त्री सुदावान वाङसुफाकिजकोसोल र पर्यटन सहयोगसम्बन्धी सम्झौतापत्रमा पर्यटन तथा खेलकुदमन्त्री सोरावाङ तिनथोङले हस्ताक्षर गरेका हुन् ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घ र थाइल्याण्डको व्यापार बोर्डबीच पनि सम्झौता भएको छ । महासङ्घ र थाईल्याण्डको थाई चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्य तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको हो । दुवै देशका प्रधानमन्त्रीहरुको उपस्थितिमा आज बैङ्ककमा भएको समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अङगुबोल्कुलले हस्ताक्षर गरे ।

यस समझदारीले नेपाल र थाइल्याण्डबीच व्यापारिक सम्बन्धलाई सुदृढ गर्ने, आर्थिक सहकार्यलाई प्रवद्र्धन गर्ने तथा व्यापार र लगानी विस्तारका लागि संरचित रूपरेखा तयार गर्ने लक्ष्य राखेको छ । साथै दुई देशबीचको व्यापारिक सहकार्यलाई थप मजबुत बनाउने र आर्थिक सहकार्यलाई विस्तार गर्न महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ । त्यस्तै नेपाल उद्योग परिसङ्घ र थाइ उद्योग महासङ्घ, नेपाल चेम्बर अफ कमर्स र थाइल्याण्डको पर्यटन परिषद्बीच हस्ताक्षर भएको छ ।

काठमाडौं विश्वविद्यालय र सियाम विश्वविद्यालयबीच पनि सम्झौता भएको छ ।

Health Tips Ad Road Block