काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कुल ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गरेको छ ।
शुक्रबार चैत १५ गतेको प्रदर्शन एवं आन्दोलनकाक्रममा तिनकुने क्षेत्रमा राजावादी समर्थकले आयोजना गरेको कार्यक्रममा फोहोर मैला, बोट बिरुवामा क्षति तथा महानगरको सम्पत्ति तोडफोड एवं दमकल प्रयोग र त्यसमा क्षती समेत भएको भन्दै महानगरले ज्ञानेन्द्र शाहका नाममा ७ लाख ९३ हजार जरिवानाको पत्र काटेको हो ।
पूर्वराजा शाहको निजी निवास निर्मल निवासमा महानगरले जरिवानाको पत्र पठाएको स्पष्ट पारेको छ । काठमाडौं महानगरका नगर प्रहरी उपरीक्षक, नगर प्रहरी निरीक्षकहरुले हस्ताक्षर गरेको विभिन्न पत्र पूर्वराजालाई पठाएको महानगरले जनाएको छ ।






















