काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्लोबल मनी विकको अवसरमा देशभरी विभिन्न २९४ शाखा कार्यालयहरु मार्फत १० हजारभन्दा बढी युवा, विद्यार्थी, कर्मचारी, कृषकहरु माझ वित्तीय चेतना अभिवृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । अन्तर्राष्ट्रियरुपमा हरेक वर्ष मार्च महिनाको दोस्रो सातामा मनाइने ग्लोबल मनी विक बैंकले चैत ४ देखि १० गतेसम्म साताव्यापी “Think before you follow, wise money tomorrow” नारासहित सञ्चालन गरिरहेको हो ।
बैंकले विभिन्न स्कुल तथा कलेजका हजारौं विद्यार्थीहरु, कर्मचारी, मजदुर तथा कृषकहरुको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरुबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको हो । अभियानअन्तर्गत बैंकले बैंकसँग कारोबार गर्दाका फाइदाहरु, डिजिटल बैंकिङ्ग, क्यूआर, पोस सेवा, आरविवि स्मार्ट बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, पिन तथा पार्सवर्ड सुरक्षा, ओटिपी, रेमिट्यान्स कारोबार, बचत तथा कर्जाको सदुपयोग सम्बन्धी संचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ । बैंकका विभिन्न शाखा कार्यालयहरुमार्फत वित्तीय सचेतनामूलक अन्तरक्रिया पनि सञ्चालन गरिरहेको बैंकले जनाएको छ । यसका साथै सामाजिक सञ्जालबाट चेतनामूलक श्रव्यदृष्य सामग्रीहरु समेत प्रसारण गरेको छ । बैंकले केही वर्षदेखि हरेक त्रयमासमा सबै शाखा कार्यालयहरुमार्फत वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गर्दै आइरहेको जनाएको छ ।

सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका १७६ भन्दा बढी मुलुकमा सञ्चालन हुँदै आएको ‘ग्लोबल मनी विक’ मुलतः किशोर/किशोरी तथा युवा/युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २९४ वटा शाखा कार्यालय, ७२ वटा एक्सटेन्सन काउन्टर, ३१२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।






















