ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

कोरियाली लगानी मूल्याङ्कन टोलीलाई नेपालमा लगानी साझेदारी अन्वेषण गर्न आमन्त्रण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग कोरियाली लगानी मूल्याङ्कन टोलीले भेटघाट गरेको छ । भेटका क्रममा मन्त्री भण्डारीले नेपालमा लगानीको उपयुक्त वातावरण बनेकाले लगानी गरेर रोजगारको सृजनासहित मुनाफा आर्जन गर्न आग्रह गरे ।

उनले नेपाल र गणतन्त्र कोरियाबीचको सम्बन्ध पछिल्ला वर्षहरूमा थप प्रगाढ र सुमधुर बन्दै गएको बताए । उनले भने, “सन् १९७४ मा नेपाल र गणतन्त्र कोरियाबीच कूटनैतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको सम्बन्ध धेरै घनिष्ठ एवम् मैत्रीपूर्ण रूपमा अगाडि बढिरहेको छ । हाम्रा दुई देशबीच एवम् जनस्तरमा मित्रता, समझदारी र आपसी सहयोगको निरन्तर अभिवृद्धि भइरहेको छ ।” उनले भने, “नेपालको सामाजिक तथा आर्थिक विकासका लागि कोरिया महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा रहेको छ । नेपालमा कृषि, उद्योग, पर्यटन, निर्यात प्रवद्र्धन र जलविद्युत विकासको लागि कोरियन अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभान्वित हुन चाहन्छौँ ।”

उनले कोरियाली कम्पनीहरू स्यामसङ इलेकट्रोनिक्स र हुन्डाई मोटर्सले नेपालमा एसेम्बलिङ्ग प्लान्ट स्थापना गरी क्रमशः टिभी सेट र कार उत्पादन गरिरहेको बताए । उद्योग र व्यापारका क्षेत्रमा समेत नेपाल र कोरियाबिचको सम्बन्ध बढ्दै गएको उनले बताए ।

मन्त्री भण्डारीले कोरिया नेपालमा वैदेशिक लगानीको एक प्रमुख स्रोत मुलुक रहेको बताए । उनले भने, “गत वर्षको व्यापार तथ्याङ्क हेर्दा कोरियाबाट नेपालमा करिब ८ अर्ब ७० करोडको वस्तु आयात भएको देखिन्छ भने नेपालबाट कोरियामा करिब ३३ करोड ५० लाखको मात्र निर्यात भएको छ । यसले कोरियासँग नेपालको व्यापार असन्तुलन रहेको देखाउनुका साथै आगामी समयमा दुई देशबिच थप सहकार्यको अवसर सृजना गरेको छ ।”

नेपाल र दक्षिण कोरियाबिच कूटनीतिक सम्बन्धको ५० औँ वार्षिकोत्सवको अवसरमा डिसेम्बर २०२४ मा द्विपक्षीय व्यापार तथा लगानीलाई अभिवृद्धि गर्न व्यापार तथा लगानी प्रवद्र्धन फ्रेम वर्क स्थापना गर्ने सम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर गरिएको छ, जुन एक ऐतिहासिक सम्झौता भएको उनले बताए ।

मन्त्री भण्डारीले वर्तमान सरकार विदेशी लगानीकर्ताहरूको लागि नीतिगत स्थिरता र सुरक्षा प्रदान गर्न समर्पित रहेको बताए । वैदेशिक व्यवसायको वृद्धिलाई समर्थन गर्ने स्थिर नीतिगत ढाँचा कायम राख्न प्रतिबद्ध रहेको उनले बताए । उनले कोरियाली व्यवसायहरूलाई नेपालमा लगानी साझेदारी अन्वेषण गर्न आमन्त्रण गरे । उनले जलविद्युत, उत्पादन र पर्यटन जस्ता क्षेत्रहरूमा सहकार्यको अपार सम्भावना रहेको बताए ।

कोरियाली प्रतिनिधिमण्डलले नेपालमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अहिलेलाई कोसी प्रदेशमा कृषि क्रान्तिबाट सुरु गरेर प्रविधिमा समेत निपुण बनाउने प्रतिबद्धता व्यक्त गरे । प्रतिनिधिमण्डलमा १ कोरियाका विभिन्न क्षेत्रका १ दर्जन बढी व्यक्तिहरू सहभागी थिए ।

Health Tips Ad Road Block