ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

एनआरएनएको १०औं एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन कम्बोडियामा सुरु

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौ. । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा १०औं एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन कम्बोडियामा मंगलबारबाट सुरु भएको छ । “संगम–एकता“ नाराका साथ आयोजना गरिएको यो सम्मेलनले गैरआवासीय नेपालीहरूबीच एकता, सहकार्य, र समृद्धिका विषयमा छलफल गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

दुई दिवसीय सम्मेलनमा एसिया–प्यासिफिक क्षेत्रका ११ वटै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का प्रतिनिधिहरू, विभिन्न क्षेत्रका विज्ञहरू, संघका पदाधिकारीहरू तथा नेपाली समुदायका अगुवा लगायत ३०० बढी सहभागी भएका छन् । सम्मेलनमा गैरआवासीय नेपालीका हकअधिकार, नेपालमा लगानी, सामाजिक तथा सांस्कृतिक समृद्धि, महिला, युवा तथा दोस्रो पुस्ताका नेपालीहरूको भूमिकाजस्ता महत्वपूर्ण विषयमा छलफल गरिनेछ।

सम्मेलन उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे दिगो एकताका लागि एनआरएनएको नेतृत्वले ध्यान दिनुपर्नेमा जोड दिएका छन् । मन्त्री पाण्डेले भने, “नेपाल सरकारले बडो तत्परताका साथ तपाईहरुका बीच एकता खोजिरहेको छ । संगम खोजिरहेको छ । विशेषगरि परराष्ट्र मन्त्रालयले बडो महत्वका साथ यो विषयलाई हल गर्ने, र एकताबद्ध गतिविधि सञ्चालन गर्ने, एकताबद्ध महाधिवेशन सम्पन्न गर्ने र दिगो एकताका लागि पहल गरिरहेको छ । ”

विदेशमा बसेर राजनीति नगरी सामाजिक भावले मात्रै एनआरएन अभियान अघि बढाउन सके नेपाललाई ग्लोबल ब्रान्डिङ गर्न सकिने उनको भनाई थियो । उनले भने, “नेपाललाई ग्लोबल ब्रान्डिङ गर्ने काम एनआरनको हो ।”

संविधानले प्रदान गरेको अधिकार गैरआवासीय नेपालीहरुले प्राप्त गर्नेमा कुनै दुविधा नभएको उनको भनाई थियो । उनले भने, “नेपालको सार्वभौमिकताको पृष्ठपोषक कोही छ भने विदेशमा बसेका तपाई नेपाली हो । संविधानले गैरआवासीय नेपाली भनेर परिभाषित गरेको छ र अब हामी ऐन कानून बनाएर कानूनी प्रबन्धमा ल्याउने छौँ र त्यसैको एउटा कोपिलाको रुपमा पीएनओलाई प्रवेश गराउनेछौँ ।”

पर्यटकीय र धार्मिक दृष्टिकोणले थाइल्याण्ड र कम्बोडियालाई नेपालसँग जोड्न सकेको खण्डमा सांस्कृतिक, पर्यटकीय र आर्थिक रुपले पनि नेपाल लाभान्वित हुने मन्त्री पाण्डेको भनाई थियो ।

गैरआवासीयलाई गैरराजनीनति संघ बनाउनुस्ः सांसद एकनाथ ढकाल

सांसद एकनाथ ढकालले गैरआवासीय नेपाली संघलाई राजनीतिमुक्त बनाउन सके नेपालको समृद्धिमा यस संघले ठूलो योगदान दिनसक्ने बताएका छन् । सम्मेलनलाई सम्बोधन गर्दै पूर्वमन्त्री ढकालले भने, “मातृभूमिको समृद्धि, हित चाहने हो भने यस संघलाई गैरराजनीतिक बनाऊनुस् । तपाईहरुले सामाजिक काममा जति योगदान पुर्याउनुभएको त्यो वास्तवमै अतुलनीय छ ।”

नेपालका सबै राजनीतिक दलहरु एनआरको जाहेज मागहरु पूरा गर्न एकबद्ध रहेको उनले उल्लेख गरे । उनले भने, “तपाईहरुको जाहेज मागप्रति सबै राजनीतिक दल एकै स्थानमा उभिएका छन् तर सबै चीज एउटै समयमा पूरा हुन सक्दैन समयअनुसार, आवश्यकता अनुसार ती मागहरु पूरा हुँदै जान्छन् ।”

संविधानले दिएको अधिकार दिन हात कमाउन आवश्यक छैनः पूर्व कानून, न्याय तथा संसदीय मामिला मन्त्री गिरि
यता पूर्व कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरिले संविधानमै उल्लेखित गैरआवासीय नेपालीहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार दिन्न भन्ने अधिकार कसैलाई पनि नहुने बताएका छन् । सम्मेलनलाई सम्बोधन गर्दै पूर्वमन्त्री गिरिले भने, “संविधानमा हामीले राजनीतिक बाहेकका अधिकार दिन्छौँ भनेर लेखिसकेका छौँ अब त्यसमा हात कमाउनुपर्ने आवश्यकता छैन ।” पुस्तौँदेखि विदेशमा बसोबास गर्दै आएका नेपाली मुलका विदेशी नेपाली ९पिएनओ०हरुले उठान गरेको परिचयपत्रको माग जाहेज भएकोले छिट्टै सरकारले यसको सुनुवाई गर्नुपर्ने र आफूले पनि त्यसमा पहल गर्ने उल्लेख गरे । पूर्वमन्त्री गिरिले एनआरएनएको शाख गुम्ने अवस्था आएको भन्दै संघका अग्रजले अहम् भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए ।

१२ औँ महाधिवेशन आगामी अक्टोबरमै हुन्छ, जुन एकताको महाधिवेशन हुनेछः अध्यक्ष डा. केसी

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले उच्चस्तरीय समितिले नै महाधिवेशन गर्नुपर्ने हो भने पनि त्यसलाई अक्टोबरमै गर्न सकिने वैधानिक व्यवस्था रहेको बताएका छन् । उनले भने, “यतिबेला हामी बृहत एकताका लागि हदैसम्म लचक छौँ तर हाम्रा एनसीसीको कार्यक्रम प्रभावित हुनु भएन । यदि उच्चस्तरीय समितिकै १३ जनाले महाधिवेशन गराउने भएपनि मे महिनामा त्यो सम्भव छैन तर त्यसको वैधानिक व्यवस्था छ । ”

आफू एकताको विरोधी नभएको उनको भनाई थियो । उनले भने, “ सम्मानित सर्वोच्च अदालतबाट मिति २०८०÷१२÷२१ मा फैसलाले तोकेको महाधिवेशन हुने समय आफू खुसीे परिभाषा गरि काम भई रहेको छ, संघले प्राप्त कानून हक परित्याग नगरि र कुनै पनि बिबन्धन नहुने गरि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १३४ अनुसार दुवै फैसलाको कार्यान्वयनको एकरुपमा कायम गर्नका लागि सम्मानित सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार समक्ष महान्याधिवक्ता मार्फत निवेदन पेश गर्न सकिन्छ, त्यसो गरे अक्टोबरमै महाधिवेशन गर्न सकिन्छ यसले कसैलाई हानी हुन्न ।” उनले भने, “१२ औँ महाधिवेशन आगामी अक्टोबरमै हुन्छ, जुन एकताको महाधिवेशन हुनेछ।”

गैरआवासीय नेपाली संघमा पुस्तान्तरणको आवश्यकता छः उपाध्यक्ष डा. शर्मा

संघका उपाध्यक्ष डा. हेमराज शर्माले गैरआवासीय नेपाली संघभित्र पुस्तान्तरणको आवश्यकता रहेको बताएका छन् । “यहाँ ५ क्षेत्रको संगम देखेर म प्रफुल्ल छु, यो माझमा उपेन्द्र महतोजी, जीवा लामिछानेजी पनि हुनुभएको भए हुन्थ्यो जस्तो तपाईहरुलाई लागेको होला म अनि हामी सबैलाई पनि लागेको हो तर अब तपाईहरु आफैँ सक्षम हुनुहुन्छ । अग्रज नआएपनि यति सफलतापूर्वक कार्यक्रम गर्न, यसलाई उहाँहरुले दिनुभएको अवसरको रुपमा लिनुहोला ।” उनले भने, “हामी नेपालमा पुस्तान्तरणको खुब कुरा सुन्छौँ त्यही पुस्तान्तरण अब गैरआवासीय नेपाली संघमा पनि आवश्यक छ, म हाम्रा अग्रजहरुलाई त्यो वातावरण निर्माण गरिदिन आग्रह गर्दछु ।”

Health Tips Ad Road Block