काठमाडौं । एन.सि.एग्रो टेक इण्ड्रष्ट्रिज लिमिटेडले सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ लाख कित्ता अर्थात् १८ करोड रुपैयाँको साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।
ग्लोबल आइएमई क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा एन.सि. एग्रो टेक इण्ड्रष्ट्रिज लिमिटेडको तर्फबाट अख्तियार प्राप्त सञ्चालक दिपक प्रसाद न्यौपाने र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
२०७५ साल कार्तिक ११ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको एन.सि. एग्रो टेक इण्ड्रष्ट्रिज लिमिटेडले काठमाडौंको टोखा नगरपालिका–८ मा केन्द्रीय कार्यालय स्थापना गरी पूर्व नवलपरासी गैंडाकोट–१४, नवलपुरमा कारखाना स्थापनामार्फत विभिन्न कृषि उत्पादन गरिरहेको छ ।
कम्पनीले नेपाल सरकारको कृषि दशकको अभियानमा कृषि क्षेत्रलाई सफल बनाउने अभियान अन्तर्गत कृषि उत्पादन भई खेर गएका सामाग्रीको स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर ताजा च्याउ उत्पादन गरी देशलाई आत्मनिर्भर बनाउने र उत्पादित च्याउ विदेश निर्यात गर्ने तथा औषधीय महत्व बोकेका च्याउ जस्तै यार्सागुम्बा, लायन्समाने, गानोडरमा, टर्कीटेल, सिताके, ग्रीफोला आदि च्याउहरु तथा यी च्याउहरुका माइसेलियस उत्पादन गरी क्याप्सुल बनाइ विदेश समेत निर्यात गरिरहेका तथा च्याउलाई अत्याधुनिक प्रविधिबाट प्रशोधन गरी ड्राइ मशरुम, मशरुम सुप तथा क्यान मशरुम आदि बनाउनुको साथै गोब्रे च्याउ उत्पादन गर्नको लागि आवश्यक कच्चा पदार्थ (कम्पोष्ट) उत्पादन गरी नेपालभरीका किसान तथा ठूला व्यवसायिक कृषकहरुलाई बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले च्याउ टिपिसकेपछि बाँकी रहेको कम्पोष्ट तथा बाँस प्रशोधन गर्दा निष्कने भूषलाई कोइलामा परिणत गरी वातावरणमैत्री संरचनाको समेत निर्माण गरेको छ । कम्पनीले राजा च्याउको उत्पादनमार्फत बजार ख्याति बढाउँदै लगेको छ ।
नेपालमा उत्पादन भइरहेको र नयाँ खालका च्याउको व्यावसायिक तालिम र च्याउ उत्पादनको प्रविधि तथा सबै खालका च्याउका बिउ बिजन समेत उपलब्ध गराउने कार्य कम्पनीले गर्दै आइरहेको र यसका अलावा अत्याधुनिक स्रोत साधनको प्रयोग गरी बाँसको टुथपिक, ससेज सिन्का, अगरबत्ती सिन्का, मुडाको सिन्का लगायतका बाँसका अन्य वस्तु समेत उत्पादन गर्दै आइरहेको छ । त्यस्तै च्याउतर्फको र बाँसका सिन्काको उत्पादन गरी देशलाई आत्मनिर्भर बनाउने र अन्य औषधिजन्य च्याउहरुको उत्पादन गरी सो पश्चात् खेर जाने फोहोरलाई समेत उच्च गुणस्तरका कोइलामा रुपान्तरण गरी बिक्री/वितरण समेत गर्दै आइरहेको र यसको अलावा खेर गइरहेको कृषि उपजहरु जस्तैः उखुको भूष, तोरीको पिना, गहुँको नल, चोकर, मकै, तोरीको गट्टे, धानको भूष जस्ता वस्तुहरुको प्रयोग गरी च्याउ उत्पादनमा अत्याधुनिक प्रविधि प्रयोग गरिरहेको यस कम्पनीमा विभिन्न क्षेत्रसँग सम्बन्धित प्रतिष्ठित व्यक्तिहरु, ख्याति प्राप्त व्यवसायी, च्याउ विज्ञ, कृषक, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट तथा अन्य पेशामा संलग्न प्रबुद्ध व्यक्तित्वहरु रहेका छन् ।






















