काठमाडौं । काठमाडौंको कालीमाटीस्थित तरकारी तथा फलफूल बजारमा भित्रिएको ताजा तरकारी हरियो सिमीमा ४२ प्रतिशतसम्म विषादीको मात्र भेटिएको छ । परिक्षण गरिएकामध्ये चितवनबाट ल्याइएको हरियो सिमीको एउटा नमूनामा विषादीको मात्रा ४२ इन्जाईम इन्हिबिशन प्रतिशतसम्म भेटिएपछि ३ दिनसम्म क्वारेन्टाइन होल्डमा राखिएको छ । तरकारी व्यवसायी राम कुमार थपलियाको ११४ केजी उक्त सिमी ३ दिनसम्म क्वारेन्टाइन होल्ड गर्न लगाइएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोबाइल फुड ल्याव भ्यान संचालन गरी स्यापिड रेस्पोन्स टिमले मंगलबार राति १० बजेदेखि बुधबार बिहान ६ बजेसम्म तरकारी तथा फलफूलमा जीवनाशक विषादी अवशेषको परीक्षण अनुगमन एवं निरीक्षणकाक्रममा उक्त विषादीको मात्रा फेला परेको हो । विभागको स्यापिड रेस्पोन्स टिमले २०८१ माघ ८ गते राति १० बजे देखि ९ गते बिहान ६ बजेसम्म कालीमाटी तरकारी फलफूल बजारमा भित्रिने तरकारी तथा फलफूलको स्थलगतरुपमै मोबाइल फुड ल्याव भ्यानबाट जीवनाशक विषादीको परिक्षण गरेको फिल्डमै खटिएका विभागका खाद्य निरीक्षण अधिकारी डा.ईश्वर सुवेदीले जानकारी दिए ।


कालीमाटी बजारमा भित्रिने तरकारीहरु ढुवानी गरिने साधन मिनी ट्रक, ट्रकहरुबाट नै तरकारी तथा फलफूलको नमूना संकलन गरी आरबीपिआर बिधीबाट जीवनाशक विषादी अवशेषको परिक्षण गरिएको थियो । रातिको समयमा गरिएको अनुमगनको क्रममा आलु, प्याज, गोलभेँडा, फूलगोभी, बन्दाकोभी, खुर्सानी, धनिँया, फर्सी, काँक्राे, रायो साग, ब्रोकाउली, तरुल, च्याउ, लसुन, हरियो प्याज, बोडी, चम्सूर, भन्टा, गाँजर, हरियो सिमी तथा सुन्तला लगायत २२ प्रकारका तरकारी फलफूलहरुका १५९ वटा नमूनाहरुको परिक्षण गरिएको सुवेदीले जानकारी दिए । उक्त परिक्षणमा न्यूनतम १ प्रतिशतदेखि अधिकत्तम ४२ प्रतिशतसम्म इन्जाईम इन्हिबिशन पाइएको थियाे।
आरबीपिआर मापदण्ड बमोजिम इन्जाईम इन्हिबिशन ३५ प्रतिशतभन्दा कम भएकालाई खान योग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशत इन्जाईम इन्हिबिशन भएकोलाई क्वारेन्टाइन होल्ड गरी पुनः परिक्षण गर्ने र ४५ प्रतिशतभन्दा बढी आएमा अस्विकृत गरी नष्ट गरिने प्रावधान रहेको छ । परीक्षण गरिएकामध्ये चितवनबाट ल्याइएको हरियो सिमीको एउटा नमूना बाहेक बाँकी सबै तरकारी फलफूलहरु खान मिल्ने रहेको सुवेदीले बताए ।

अनुगमनका दौरान १०८ वटा गाडीका तरकारी तथा फलफूल परीक्षण गरिएको थियो । उक्त फलफूल तथा तरकारीहरु नेपालको भक्तपुर, काभ्रे, नुवाकोट, धादिङ, चितवन, परासी, मकवानपुर, सर्लाही, सिन्धुली, तनहुँ, पर्वत, काठमाडौं, स्याङ्जा, गोर्खा, ललितपुर, पर्सा, रामेछाप, सुनसरी, बारा, कास्की लगायत विभिन्न २० जिल्लाहरुबाट तथा एक वटा गाडी भारतबाट समेत आएको थियो ।
मोबाइल फुड ल्याव भ्यानमा विभिन्न उपकरण जडित ल्याव रहेको र सो भ्यानको प्रयोग गरी गरिएकाे बजार अनुगमन कार्य प्रभावकारी देखिएको साथै आवश्यक कारवाही तथा खाद्य व्यवसायी र उपभोक्तालाई सचेतना एवम् सजग गराउन मद्दत पुर्याएको विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले बताएका छन् ।






















