ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

विनोद पौडेलको नेतृत्वमा नेपाल आहारपुरक सौन्दर्यवद्र्धक संघको बागमती शाखा, कानुनसम्मत कारोबार नगर्नेलाई कारवाही गर्ने सरकारी चेतावनी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल आहारपुरक सौन्दर्यवद्र्धक संघको बागमती शाखा अध्यक्षमा विनोद पौडेल सर्वसम्मत चयन भएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रमबाट पौडेलको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

संघको वागमती प्रदेश शाखाको वरिष्ठ उपाध्यक्षमा बालकृष्ण पौडेल, उपाध्यक्षद्धयमा अमित शिन्हा र सन्जिव रोय, महासचिवमा कृष्ण अधिकारी, सचिवमा सुमन शंकर, कोषाध्यक्षमा मीन रिमाल र सह कोषाध्यक्षमा वसन्त थापा सर्वसम्मत भएका छन् । सदस्यहरुमा गिता गौतम (सामना), सृष्टि वन, सरोज चालिसे, सरोज सापकोटा, प्रशुन राज उपाध्याय,रमेश पौडेल, सन्तोष सुवेदी, अरुण महर्जन र समीर काजी श्रेष्ठ सर्वसम्मतरुपमा चयन भएका हुन् ।

नवनिर्वाचित शाखा कार्यसमितिलाई सपथ गराउँदै संघका केन्द्रीय अध्यक्ष विप्लव रञ्जितले अबको केही महिनाभित्रै देशका सातै प्रदेशमा शाखा विस्तार गरिने जानकारी दिएका छन् । उनले कानुनसम्मत कारोबार गर्ने व्यवसायीलाई मात्रै संघले संरक्षण गर्ने बताएका छन् ।

कार्यक्रम उद्घाटनकाक्रममा संघले गरेको व्यवसायिक सुरक्षा र चुनौती विषयक कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले सम्बन्धित निकायमा दर्ता भएर मात्रै कुनै पनि सौन्दर्य सामग्री वा खाद्यपूरक वस्तुको कारोबार गर्न व्यवसायीलाई ध्यानाकर्षण गराए । सर्वसाधारणको प्रत्यक्ष स्वास्थ्यसँग सम्बन्ध रहने त्यस्ता वस्तु दर्ता नगरी कारोबार गरेमा जुनसुकै मूल्य चुकाएर भएपनि सामान जफतदेखि जरिवानासम्मका कडा कारवाही गरिने चेतावनी उनले दिए । कानुनसम्मत संचालन हुने व्यवसायको संरक्षण गर्ने बताउँदै उनले निजी क्षेत्रलाई सहजीकरण गर्न आफूहरु तयार रहेको पनि बताए ।

संघले गरेको व्यवसायिक सुरक्षा र चुनौती विषयक कार्यक्रममा अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजालले यस क्षेत्रका वस्तु तथा सेवा एवं संघका गतिबिधि र क्रियाकलापको प्रचारप्रसार बढाउनुपर्नेमा जोड दिए । सबै सरोकारवालाहरु बसेर छलफलका माध्यमबाट यस क्षेत्रमा समाधान गर्न सकिने उनको धारणा थियो ।

कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीले खाद्यपूरक वस्तुको बिक्रीमा रोक लगाउने किसिमको व्यवहार गरिए त्यसको प्रतिकार गर्ने चेतावनी दिए । उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने कुनैपनि क्रियाकलाप सह्य नहुने भन्दै उनले त्यसलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए । कतिपयले दर्ता नगरी सामाजिक सञ्जालमा भ्रम फैलाएर आफ्नो उत्पादन बिक्री वितरण गरिरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न जरुरी भएको उनको भनाइ छ ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. इश्वर सुवेदीले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने छुट कसैलाई नभएको भन्दै कानुनको परिधिमा रहेर कार्य गर्ने सबैलाई राज्यले सहयोग गर्ने बताए । उनले यस व्यवसायलाई समृद्ध बनाउन विभागले जुनसुकै सहयोग गर्ने धारणा राखे ।

 

Health Tips Ad Road Block