काठमाडौं । कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गर्न लागेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत यसअघि वितरण भएका कृषि अनुदानसम्बन्धी विवरण कृषिमन्त्री रामनाथ अधिकारीले सार्वजनिक गर्न लागेका हुन् ।
आज दिउँसो मन्त्रालयमा पत्रकार सम्मेलन गरी यसलाई सार्वजनिक गर्ने कार्यक्रम रहेको कृषिमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री अधिकारीले पदबहाली गरेकै दिन मन्त्रालयअन्तर्गत यसअघि वितरण भएको कृषि अनुदानको विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका थिए ।
त्यस्तै मन्त्री रामनाथ अधिकारीले कार्यभार सम्हालेको ३५ दिनमा के गर्न सकिन्छ भनेर पत्रकारहरुसँग सुझाव लिँदै कृषि मन्त्रालयबाट अर्बौं रुपैयाँ अनुदान लगेर काम नगर्नेहरुको विवरण छिट्टै सार्वजनिक गर्ने चेतावनी पनि दिएका छन् ।
त्यतिबेला उनले मन्त्रालयले केही वर्षका बीचमा अर्बौं रुपैयाँ दिएको अनुदानबारे लगत संकलन भइरहेको र केही समयमै सार्वजनिक गर्ने बताएका थिए । त्यतिबेला पत्रकारहरुसँग कुरा गर्दै अधिकारीले भनेका थिए, ‘कृषि मन्त्रालयले यो दुई–पाँच वर्षका बीचमा अरबौं रुपैयाँ अनुदान दिएको रहेछ । मैले त्यो अनुदान रकम कसले कति लिएको छ ? २०/२५/३० लाखको सरोकार होइन । ठूला अनुदान लिने तर जरो किलो केही पनि छैन । किन दिइयो ? त्यो खोजी गरेर सार्वजनिक गर्नुपर्छ भनेर मन्त्रालयलाई अह्राएको छु । यदि दिँदैन भने कसले दिँदैन म कहाँ ल्याउ भनेर त्यो काम गरेको छु । त्यसकारणले ढुक्क हुनुस्, केही समयमा यो पनि सार्वजनिक हुनेछ । मबाट कसैले पनि आशा नगर्नु कि म केही दिन सक्दिन ।’






















