काठमाडौं । पाटा नेपाल च्याप्टरले ग्वान्जाउइन्टरनेशनल ट्राभल फेयर ( जीआईटीएफ) को निमन्त्रणामा डिसेम्बर २ देखि ४ माचीनको सेन्जेनमा आयोजित ‘जीआईटीएफ रोड शो’ मा सहभागी भइ ‘नेपाल र नाईस २०२५ कार्यक्रम’ को प्रवद्र्धन गरेको छ ।
सहभागी २५० भन्दा बढी आउटबाउन्ड टुर अपरेटरहरू र मिडिया प्रतिनिधिहरू समक्ष गन्तव्य नेपाल र आगामी फेब्रुअरी २४ देखि २६ सम्म नेपालको पर्यटकीय राजधानी–पोखरामा आयोजना हुने नेपाल इन्डिया चाइना एक्स्पो –नाईस) २०२५ को प्रवद्र्धन गरेको हो ।
पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लकाई, प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडाल र नाईस २०२५ का सद्भावना राजदूत तथा चीन बजारका विज्ञ सल्लाहकार प्रा. डा. वोल्फगाङ जोर्ज अर्ल्टले नेपालको पर्यटन सम्भावनाहरू उजागर गर्दै पर्यटन विकास र प्रवद्र्धनका लागि सहकार्य र पर्यटन आदानप्रदानका असीमित अवसरहरूमा जोड दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको क्रममा चिनियाँ सरकारद्वारा ‘नेपाल पर्यटन वर्ष २०२५’ को औपचारिक घोषणासँगै मेल खाएको रोड शोले नाईस कार्यक्रमलाई अपेक्षित उद्देश्य प्राप्तिका लागि महत्वपूर्ण कोसेढुङ्गाको रुपमा चिनाएको दाबी गरिएको छ ।
पाटा नेपालका अध्यक्ष खेम लकाईले आफ्नो उद्घाटन मन्तव्यमा चिनियाँ टुर अपरेटरहरूलाई नाईस २०२५ मा सहभागी हुन निमन्त्रणा दिए । उनले भने, ‘प्राकृतिक सौन्दर्य, समृद्ध संस्कृति र असिमित सम्भावनाहरूले भरिएको नेपालले तपाईंलाई न्यानोपन र जीवन्त अनुभव महसुस गर्न पहिलो पटक आयोजना हुन गइरहेको नाईस एक्स्पोमा स्वागत गर्न चाहन्छौं ।’
पाटा नेपाल च्याप्टरका सीईओ सुरेशसिंह बुडालले ‘एशियाली आउट बाउन्ड पर्यटन’ सम्बन्धी मुख्य तथ्यहरू प्रस्तुत गर्दै नाईस २०२५ को कार्यक्रमको विवरण र यसले नेपालका दुई प्रमुख स्रोत बजारहरू भारत र चीनलाई लक्षित गर्दै पर्यटन आदानप्रदानलाई प्रवद्र्धन गर्नमा खेल्ने भूमिका उपर प्रस्तुतीकरण गरेका थिए ।

त्यसैगरी प्रा. डा. वोल्फगाङ जोर्ज अर्ल्टले चीनको आउटबाउन्ड पर्यटन बजारका समसामयिक जानकारीहरू सम्बन्धी प्रस्तुुतीकरण पेश गरे । उनले भ्रमणका आफ्ना व्यक्तिगत अनुभवहरू साझा गर्दै नेपालको अतुलनीय पर्यटकीय उपजहरु र प्रख्यात आतिथ्यतामाथि जोड दिँदै नेपाल समक्ष विश्वभरका यात्रुहरूलाई घुम्न आकर्षित र प्रेरित गर्ने गुणहरू रहेको बताए ।

जीआईटीएफकी प्रमुख क्याथी सुईले पाटा नेपाल च्याप्टरसँग सहकार्य गर्न पाउँदा र नेपालको पर्यटन प्रवद्र्धन र विकासका लागि नाईस २०२५ को साझेदार संस्थाको रुपमा सहकार्य र सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे ।

हालसम्म, चीन र भारतबाट २०० भन्दा बढी क्रेताहरुले नाईस २०२५ का लागि आवेदन दर्ता गरिसकेका छन् । नाईस २०२५ का ‘प्रिफर्ड पार्टनर’ जीआईटीएफ द्वारा आयोजित रोड शोले चिनियाँ आउटबाउन्ड अपरेटरहरू बीच कार्यक्रमको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको छ र आगामी हप्ताहरूमा थप क्रेताहरुले आवेदन दर्ता गर्ने अनुमान गरिएको छ । यी दर्ताहरूबाट नाईस क्रेता छनौट समितिले क्रेताहरुको गुणस्तर र प्रभाव सुनिश्चित गर्न उपयुक्त सहभागीहरूलाई चयन गर्नेछ ।
नाईस २०२५ नजिकिँदै गर्दा पाटा नेपाल च्याप्टरले यो कार्यक्रममार्फत क्षेत्रीय सहकार्यलाई सुदृढ गर्दै पर्यटन सम्बन्ध र ब्यापार आदानप्रदान प्रवद्र्धन गर्न तथा नेपाललाई विश्व यात्रुहरू माझ एक प्रमुख आकर्षक गन्तव्यका रुपमा प्रवद्र्र्धन गर्ने अठोट लिएको छ ।























