काठमाडौं । नेपालको पर्वतीय पर्यटनको विकास र विस्तार गर्न स्थापित छाता संस्था ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) को आगामी नेतृत्वका लागि राजेन्द्रप्रसाद सापकोटा र सागर पाण्डे प्यानल चुनावी मैदानमा रहेका छन् । टानको ४६ औं वार्षिक साधारण सभा एवं निर्वाचनमार्फत नयाँ नेतृत्व चयन हुन निर्वाचन भइरहेको अवस्थामा सापकोटा समूह र पाण्डे समूहहबीच कडा प्रतिष्पर्धा हुने व्यवसायीको आँकलन छ । नयाँ नेतृत्व छान्नेक्रममा काठमाडौंमा टानको निर्वाचन जारी रहेको छ ।
सापकोटा समूहको वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा भीम प्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पा, महासचिवमा राजेन्द्र प्रसाद सुवेदी, सचिवमा रिन्जी जङबु शेर्पा, कोषाध्यक्षमा गौतम राज वाग्ले र सह–कोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा चुनावी प्रतिष्पर्धामा रहेका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरुमा सागर राई, सुमन अर्याल, राजु गुरुङ, दिनेश तिम्सिना, विश्व दाहाल, भुवन बहादुर खड्का, दावा ग्याल्सेन लामा, छुप्ते लामा र पवित्रा तामाङ चुनावी प्रतिष्पर्धामा छन् ।
यता पाण्डे समूहको वरिष्ठ उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, प्रथम उपाध्यक्षमा दावा लामा र द्वितीय उपाध्यक्षमा निशेष थापा,महासचिवमा सोनाम शेर्पा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेश प्रसाद न्यौपाने र सहकोषाध्यक्षमा डम्बर अधिकारी चुनावी प्रतिष्पर्धामा रहेका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरूमा माधवकुमार धमला, विनोदकुमार तामाङ, सृष्टि भण्डारी, फुर्बु छिरिङ भोटे, उत्सव ढकाल, शिवप्रसाद सिलवाल र अम्बिरबहादुर गुरुङ चुनावी प्रतिष्पर्धामा रहेका छन् ।
सापकोटा समूह २० बुँदे चुनावी घोषणापत्रसहित चुनावी प्रतिष्पर्धामा रहेको छ । अध्यक्षका प्रत्यासी सापकोटाले पदमार्ग संरक्षण, त्यससम्बन्धी नीतिगत सुधारलाई पहिलो प्राथमिकता दिएको बताएका छन् । आर्थिक समृद्धिको मुख्य आधार मानिएको पर्यटन क्षेत्रको महत्वपूर्ण पाटो साहसिक पर्यटनलाई पाठ्यक्रममा समावेश गराएर यसको प्रभावकारी प्रवर्द्धनका लागि आफूले पहल गर्ने सापकोटाले बताएका छन् । अध्यक्षका प्रत्यासी सापकोटाले भ्याटको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण र भ्याट फिर्ता गराउन लागिपर्ने, टिम्सको रकम व्यवसाय र मजदुरको स्वास्थ्य एवं सुरक्षामा लगाउन पहल गर्ने, आइटीको प्रयोगमार्फत टानमा एडभेन्चर टुरीजमको सूचना केन्द्र विकास गरेर जाने लगायतका योजना अगाडि सारेका छन् ।
यता अध्यक्षका प्रत्यासी सागर पाण्डेले टे«किङ व्यवसायमा क्रियाशील व्यवसायी र मजदुरलाई प्रत्यक्ष फाइदा पुग्ने गरी ‘बृहत् टान अक्षयकोष’ निर्माणलाई प्राथमिकतामा राखेका छन् । उनले टानलाई राजनीतिको छाया मुक्त बनाउने,पछिल्लो समय स्थानीय तहले जथाभावीरूपमा मोटर बाटो खन्दा पदमार्गहरू मासिँदै गएकाले त्यसको संरक्षणका लागि काम गर्ने, पदयात्रा व्यवसायमा लगाइएको भ्याट पुनरावलोकन लगायतको एजेण्डा अगाडि सारेका छन् ।
टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गर्ने विधानमा व्यवस्था रहेको छ । टानमा हालसम्म २४२८ कम्पनी आबद्ध रहेको टानले जनाएको छ । साधारण सभा उद्घाटन कार्यक्रममा टानका वर्तमान अध्यक्ष निलहरि बास्तोलाले चुनावताका गरेका २० बुँदे घोषणापत्रमध्ये १८ वटा बुँदाका काम सम्पन्न गरेको र डेढ करोड घाटामा रहेको टानलाई ५० लाखभन्दा बढी नाफामा राखेर बारिहरिएको टानका वर्तमान अध्यक्ष निलहरि बास्तोलाले बताए ।
























