काठमाडौँ । गतवर्ष सन् २०२५ मे को तुलनामा यसवर्ष सन् २०२६ को मेमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या १९ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार मे महिनमा एक लाख दुई हजार ६२६ विदेशी पर्यटक हवाई माध्यमबाट नेपाल आएका छन् । कोरोना महामारीअघि सन् २०१९ को मेको तुलनामा यो ३१ प्रतिशतले बढी हो ।
बोर्डका अनुसार सन् २०२५ को मेमा ८६ हजार २१६, सन् २०२४ को मेमा ९० हजार २११ र सन् २०१९ को सोही अवधिमा ७८ हजार ३२९ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
यो अवधिमा भारतीय पर्यटकको लागि नेपाल सस्तो गन्तव्य मुलुकमा पर्ने कारण मे महिनामा उनीहरुको संख्या ४० प्रतिशत बढेको तथ्याँकले देखाउँछ । गत वर्षको मेमा २८ हजार १६० भारतीय पर्यटक नेपालमा आएकामा यो वर्षको सोही अवधिमा ४० हजार ७८२ भारतीय पर्यटक आएको तथ्याँकमा उल्लेख छ । सबैभन्दा बढी भारतबाट दोस्रोमा चीनबाट ११ हजार ५१४, तेस्रोमा संयुक्त राज्य अमेरिकाबाट नौ हजार एक, चौथोमा बङ्गलादेशबाट पाँच हजार २९८ र पाँचौँमा अमेरिकाबाट तीन हजार ३७५ पर्यटक नेपाल घुम्न आएका छन् ।
त्यसै गरी क्षेत्रगत रूपमा सार्क मुलुकबाट ४७.२ प्रतिशत (४८ हजार ४६१), अन्य एसियाली मुलुकबाट १९.९ प्रतिशत (२० हजार ६६२), युरोपबाट १३.१ प्रतिशत (१३ हजार ४४०), अमेरिका क्षेत्रबाट १०.३ प्रतिशत (१० हजार ६१८) मध्यपूर्वबाट १.५ प्रतिशत (एक हजार ५११) र अन्य मुलुकबाट ४.१ प्रतिशत (चार हजार ६१२) विदेशी नेपाल आएका छन् ।
सन् २०२६ को पाँच महिनामा पाँच लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२६ को जनवरीदेखि मेसम्म पाँच लाख २९ हजार ६३ विदेशी पर्यटक हवाई माध्यमबाट नेपाल भित्रिएका छन् ।




















