काठमाडौँ । जेठ २१ अर्थात् ४ जुन २०२६ देखि हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान गर्ने भएको छ । नेपालबाट अन्तरराष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित शेन्जेन सहरसँग राजधानी काठमाडौँलाई प्रत्यक्ष हवाई सेवामार्फत जोड्ने भएको हो ।
नयाँ उडान सेवाअन्तर्गत काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र चीनको शेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलबीच साप्ताहिक दुई उडान सञ्चालन गरिनेछ । कम्पनीका अनुसार काठमाडौँबाट शेन्जेनका लागि उडान प्रत्येक मङ्गलबार र बिहीबार हुनेछ भने शेन्जेनबाट काठमाडौँ फर्कने उडान बुधबार र शुक्रबार सञ्चालन हुनेछ ।
हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ गन्तव्य थपिनु हिमालय एयरलाइन्सको अन्तर्राष्ट्रिय सञ्जाल विस्तारको रणनीतिक उपलब्धि भएको बताएका छन् । उनले काठमाडौँ–शेन्जेन उडानले दुई देशबीच पर्यटन, व्यापार तथा लगानीका अवसर विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
श्रेष्ठले नयाँ सुरु गरिएको रुटप्रति उत्साह व्यक्त गर्दै हिमालय एयरलाइन्सको मुख्य उद्देश्य चीनभरि दशवटा विभिन्न पर्यटन र आर्थिक क्षेत्रहरूमा उडानहरू सञ्चालन गर्नु र नेपालमा दस लाख चिनियाँ पर्यटकहरूलाई स्वागत गर्नु रहेको बताएका छन्।




















