काठमाडौँ । काठमाडौँबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको झोला (लगेज) ट्याग प्रणाली लागू गरिने भएको छ । जेठ १५ गतेबाट यो व्यवस्था लागु हुने र बस काउन्टरबाट यात्रुको लगेज वा झोलामा कोड वा नम्बरसहितको ट्याग लगाइनेछ ।
यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित उक्त प्रणाली लागू गर्न लागिएको हो । यस सम्बन्धमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासंघबीच औपचारिक सम्झौता भइसकेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सार्वजनिक यातायात क्षेत्रमा बढ्दो झोला चोरी, झोला हराउने तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न यस्तो प्रणाली आवश्यक रहेको बताएका छन् । त्यस्तै राष्ट्रिय यातायात व्यवसायीक महासंघघका अध्यक्ष सरोज सिटौलाले हवाई यात्रामा जस्तै यात्रुको लगेज सुरक्षित राख्न पहल लिइएको बताएका छन् ।
जेठ १५ गतेबाट लागु हुने यो व्यवस्थाअनुसार ट्याग नम्बर यात्रुलाई उपलब्ध गराइनेछ । गन्तव्यमा पुगेपछि झोलामा भएको र यात्रुलाई दिइएको दुवै ट्याग मिलान गरेपछि मात्रै सामान हस्तान्तरण गरिने व्यवसायीले बताएका छन् ।




















